
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ ।
‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो ।
बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न्न नौबुँदे निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।
बैठकले रास्वपाको केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको छ । नीति तथा विचार विभागको प्रमुखमा डा. स्वर्णिम वाग्ले र उपप्रमुखको जिम्मेवारी सन्तोष परियारलाई तोकिएको छ । सचिवालयको बैठकले अभियान तथा प्रचारप्रसार विभागका प्रमुखमा मनीष झा, कृषि विभागका प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकको जिम्मेवारी राम न्यौपानेलाई तोकेको छ ।
रास्वपाले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने भन्दै ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।