
नेपाली हस्तकला प्रवद्र्धन गर्न इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरडीजीडी) र नेपाल हस्तकला महासंघबिच समझदारी भएको छ । बुधबार आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र महासंघका अध्यक्ष अध्यक्ष रवीन्द्र शाक्यले समझादरी पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाले नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्ड बनाउन कूटनीति पहल र सहयोग गर्ने जनाइएको छ । सम्झौतापत्रको उद्देश्य आईआरजीडीडी र हस्तकला महासंघबिचको सहकार्यको रूपरेखालाई नेपालको हस्तकलाको प्रवद्र्धन, कारीगर सशक्तिकरण, अनुसन्धान, नीतिगत संवाद, र प्रभाव र दृश्यतालाई अधिकतम बनाउन प्रत्येक पक्षको तुलनात्मक शक्तिको लाभ उठाउन संयुक्त रूपमा अगाडि बढाउनु हो ।
सम्झौतापत्रले नेपालको हस्तकला क्षेत्रको प्रवद्र्धन र नेपालको अर्थतन्त्रको दिगो विकासलाई समर्थन गर्ने पक्षहरूको साझा अभिप्रायलाई प्रतिबिम्बित गर्नेछ । दुवै पक्षले परम्परागत शिल्पको साँस्कृतिक र आर्थिक महत्वलाई मान्यता दिन्छन् र अनुसन्धान, कूटनीति, नवप्रवर्तन र वकालतमा संयुक्त प्रयासहरूमार्फत कारीगरहरूलाई सशक्त बनाउन, सम्पदाको संरक्षण गर्न र अन्तर्राष्ट्रिय दृश्यता बढाउन प्रतिबद्ध छन् ।
आईआरजीडीडीकी अध्यक्ष डा. ढकालले नेपाली हस्तकला क्षेत्रलाई बढाउन सहकार्य गर्ने यो सुरुवात मात्र भएको बताइन् । ‘यो सम्झौताले हामीलाई मिलेर काम गर्ने बाटो खोलेको छ। नेपाली जनताको हितको लागि मिलेर काम गरौं,’ उनले भनिन्, ‘एकअर्कालाई सहयोग गरौं । नेपाली उत्पादन र नेपालको प्रवद्र्धन गर्न नेपाल हस्तकथा महासंघसंघ सहकार्य गर्न पाउँदा आईआरजीडीडी खुसी रहेको छ । हाम्रो उद्देश्य नेपालको सौर्य कुटनीति थप बलियो र प्रभावकारी बनाउदै लानु हो ।’
सम्झौताअनुसार यो सम्झौतापत्र अन्तिम हस्ताक्षरको मितिबाट प्रभावकारी छ र पाँच वर्षसम्म मान्य रहनेछ । प्रगति मूल्याङ्कन गर्न र अनुकूलन गर्न पहिलो ६ महिनाभित्र मध्यावधि समीक्षा गरिनेछ ।