
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा पुरानो रिसइबीको कारण कुटपिट हुँदा ५० वर्षीय नन्दु राउत कुर्मीको ज्यान गएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे, स्थानीय उमेश जैसवालसहित ६ जनाको समूहले नन्दुमाथि सामूहिक रूपमा कुटपिट गरेका थिए। गम्भीर रूपमा घाइते भएका कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। तर, चिकित्सकले उनलाई साँझ ७ः२० बजे मृत घोषित गरेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न भएको पुष्टि भएसँगै सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरअन्तर्गत बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, अन्य फरार आरोपितहरूलाई पक्राउ गर्न प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा विशेष टोली खटाइएको थियो। टोलीले आज बुधबार फरार आरोपितमध्ये तीनजनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१४ बघवन टोलनिवासी उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल, उनका छोरा २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजितकुमार जैसवाल छन्। रन्जु जैसवाललाई सागर लामिछानेको घर कलैया उपमहानगरपालिका–५ बाट र दुई छोरालाई वीरगन्ज महानगरपालिका–१ शान्तिटोलबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएकोसमेत बारा प्रवता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए।