
वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छत्रेश्वरी गाउँपालिका– ४, बांगेसल्लामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्। ३५० मिटर तलबाट लिफ्ट प्रविधिबाट विकट बस्तीमा खानेपानी सुविधा पुगेपछि वर्षौँदेखि पानीका लागि काकाकुल भएका बांगेसल्लाका स्थानीय हर्षित भएका छन्।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छत्रेश्वरी गाउँपालिकाको १५ लाख ७० हजार र स्थानीयको श्रमदान एक लाख ४७ हजार गरी कुल १७ लाख १७ हजारको लागतमा घरघरमा खानेपानी पुगेको खानेपानी उपभोक्ता तथा योजना निर्माण समितिका अध्यक्ष अम्बर विकले बताए। खानेपानीको समस्याका कारण बसाइँसराइ बढ्न थालेपछि बसाइँसराइलाई रोक्न पनि खानेपानी अनिवार्य थियो। ‘अब विगतको जस्तो दुःख र बसाइँसराइ पनि हुँदैन कि भन्ने लागेको छ,’ उनले भने।
विगतमा एक गाग्री पानीका लागि दुईदेखि चार घण्टासम्म पानीको जोहो गर्नकै लागि समय लाग्ने गरेको बताउँदै घरघरमा धारा आउला भन्ने कल्पनासमेत नगरेको अर्की स्थानीय तथा कार्यपालिका सदस्य तुलसा विकले बताइन्। डाँडोको बस्तीमा खानेपानी पुगेपछि विकट बस्तीका १४ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको उनको भनाइ छ ।
शुद्ध पिउने पानीको अभावमा काकाकुल बन्नुपर्ने अवस्थामा रहेको बस्तीका नागरिकलाई पानीको समस्याबाट मुक्ति मिलेको छत्रेश्वरी गाउँपालिका– ४ का वडाध्यक्ष छविलाल खत्रीले बताए। पानीका लागि संघर्ष गरिरहेका स्थानीयको समस्यालाई मध्यनजर गरी सोलारको प्रयोग गरी बस्तीसम्म लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुर्याउन सफल भएको उनको भनाइ छ। सो क्षेत्रका जनतालाई खानेपानी, स्वास्थ्य र शिक्षालगायतका सबै सुविधा पुर्याउने योजनाका साथ अघि बढेको खत्रीको भनाइ छ ।