
२३ असार ०८१ झर्नाखोलामा आएकोे बाढीले बेलडाँडी गाउँपालिका–१ स्थित पुल भत्काएको एक वर्ष पुग्नै लाग्यो। स्थानीय सरस्वती माध्यामिक विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थीसहित हजारभन्दा बढीले दैनिक रूपमा प्रयोग गर्दै आएको यो पुल मर्मत तथा पुननिर्माणमा संघ र प्रदेश सरकारको नजर परेको छैन। जसका कारण विद्यार्थी तथा सर्वसाधारण भत्किएकै पुलबाट वारपार गर्न बाध्य छन्।
आर्थिक वर्ष ०८०/८१ मा भत्किएको पुल चालू आर्थिक वर्ष ०८१/८२ र आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा समेत मर्मत गर्न रकम विनियोजन नभएपछि स्थानीय एवं विद्यार्थी चिन्तित बनेका छन्।
कञ्चनपुरबाट गृहमन्त्री बनेका रमेश लेखक, सुदूरपश्चिम प्रदेशका तीन-तीन मन्त्री आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, भूमि व्यवस्था तथा कृषि, सहकारीमन्त्री वीरबहादुर थापा (पातल), आर्थिक मामिलामन्त्री हिरासिंह सार्कीसहित केन्द्रमा तीन र प्रदेशमा ११ प्रदेश सभा सदस्य भए पनि भत्किएको झर्नाखोला पुल निर्माणमा गम्भीर नभएको स्थानीयकाे आराेप छ ।
सरस्वती माध्यमिक विद्यालयका प्रद्यानाध्यापक विष्णुसिंह भण्डारीले दुई सरकारले आवश्यकताभन्दा पनि पहुँच र हचुवाको भरमा बजेट ल्याएको बताए । ‘यही पुल प्रयोग गरेर हाम्रै विद्यालयका सयौँ विद्यार्थी विद्यालय आउँछन्, भत्किएर हिँड्नै नसकिने भएको छ, तर सरकारले दुई आर्थिक वर्षसम्म पनि पुल पुनर्निर्माण गर्न नसक्नुले शिक्षा र जनताको आवश्यकतालाई बेवास्ता गरेको पाए ।’
बेलडाँडी गाउँपालिका–१ का वडाध्यक्ष गजबहादुर विष्टले प्रदेश सरकारले हुलाकी राजमार्गदेखि उत्तर क्रमागत रिङ्गरोडसँगै पुलका लागि बजेट माग गरे पनि नदिएको बताए । ‘पुल मर्मतका लागि पूर्वाधार विकास कार्यालयमा सिफारिस गरेका थियौँ, त्यहाँ हाकिम सापले हुन्छ भन्यो, बजेट हेर्दा देखिएन, हामी ठगियौंँ ।’ उनले यसअघि पटकपटक वडा भवनका लागि बजेट माग गर्दा समेत प्रदेश र संघले ठगेको दुःखेसो पोखे । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले झर्नाखोलामा बाढीले भत्काएको पुल पुनर्निर्माणका लागि मन्त्रालयसँग बजेट मागे पनि नदिएको बताए । ‘पालिकाबाट आएको मागअनुरुप प्रदेश सरकारलाई बजेट मागेका थियौं तर दिएन,’ उनले भने, ‘क्रमागतमा पनि बजेट न्यून दिएको छ ।’
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले संघ र प्रदेश सरकारसँग प्रर्याप्त बजेट हुने भए पनि मागेअनुरुप नदिएको बताए । ‘पालिकाले विद्यार्थी र स्थानीयको आवतजावतलाई मध्यनजर गरेर अघि बढ्छ,’ उनले भने, ‘अझै पनि माथिल्ला सरकारको बजेट पास भएको छैन, यस्ता अति आवश्यक र प्राथमिकताका आधारमा सोच्नुपर्छ ।’
निर्वाचन क्षेत्र १(ख)बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्टले झर्नाखोलामा पुल निर्माणका लागि बजेट मागे पनि नदिएको बताए । ‘मैले झर्नाखोलामा पुल र तटबन्धका लागि बजेट मागेको थिएँ,’ उनले भने, ‘फेरि पनि प्रदेश सरकारसँग पहल गर्छु ।’
निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य एवं सत्ताधारी दलका नेता तारा लामा तामाङले पनि भत्किएको पुल निर्माणका लागि सम्बन्धित मन्त्रालयमा माग गरेको दाबी गरे। ‘बाढीले भत्काएको झर्नाखोला पुलसहित अन्यतिरका योजना माग गरे अरूतिर आए झर्नाखोलामा आएन,’ उनले भने, ‘फेरि पनि पहल गर्छु।’