
इजरायलले इरानमाथिको गरेको पछिल्लो आक्रमणमा २० वर्ष लामो पूर्वतयारी जोडिएको छ । दशकौँदेखि, इजरायली अधिकारीहरूले इरानलाई आणविक हतियार विकास गर्न दिन नसकिने कुरामा जोड दिँदै आएका छन् । उनीहरूले इरानको आणविक कार्यक्रम रोक्न सैन्य बल प्रयोगका लागि समेत तयार रहेको चेतावनी दिँदै आएका छन् । यस पृष्ठभूमिमा अहिले आक्रमण भइसकेपछि, दुईवटा प्रश्न उठ्छ । आखिर आक्रमणका लागि अहिलेको समय नै किन चुनियो ? र, अब के हुन्छ ?
इजरायलले अहिले नै आक्रमण गर्ने निर्णय गर्नुपछाडि ६ वटा महत्वपूर्ण कारण छन् । पहिलो त अक्टोबर ७, २०२३ को हमास आक्रमणपछि इजरायली नेतामा आएको परिवर्तनले भूमिका खेलेको छ । इजरायली नेताहरू अहिलेको लडाइँ राष्ट्रिय अस्तित्वको लडाइँ हो भन्नेमा थप विश्वस्त देखिन्छन् । उनीहरू इरानले आणविक बम हात पारे आफ्नो देश नै रहने हो कि होइन भन्ने ठान्छन् । र, अक्टोबर ७ को झट्कापछि उनीहरू कुनै पनि जोखिमलाई सहन नसक्ने निष्कर्षमा पुगेका छन् ।
दोस्रो कारक तत्व, अहिले इरान कमजोर अवस्थामा छ । इरान कैयौँ वर्षयताकै सबैभन्दा कमजोर र रक्षात्मक स्थितिमा छ । गत अक्टोबरमा इजरायलले इरानको हवाई प्रतिरक्षा पूर्वाधारलाई निसाना बनाएको थियो । जवाफमा इरानले पनि इजरायलमाथि क्षेप्यास्त्र दागेको थियो, तर त्यो इजरायली आक्रमणजस्तो प्रभावकारी रहेन । इजरायली आक्रमणमा इरानको हवाई प्रतिरक्षा र क्षेप्यास्त्र उत्पादन क्षमतामा नराम्ररी क्षति पुगेको छ । इजरायलीहरूले आफ्नो चिर प्रतिद्वन्द्वी इरानमाथि अहिले कमजोर रहैकै अवस्थामा आक्रमण गर्ने अवसरलाई गुमाउन चाहेनन् ।
तेस्रो कारणमा आणविक बम विकासमा इरानले तय गरेको सफलता जोडिएको छ । इरान आणविक बम निर्माणको ‘ब्रेकआउट क्षमता’को नजिक पुगिरहेको थियो । अर्थात्, उसले धेरै छिट्टै आणविक हतियार विकास गर्ने सम्भावना थियो । यसै कुरालाई संकेत गर्दै गत साता मात्रै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले (आइएइए) इरानले आणविक अप्रसार सन्धिअन्तर्गत आफ्नो प्रतिबद्धता उल्लंघन गरेको घोषणा गरेको थियो ।
चौथो कारण हो, इजरायलको बढ्दो आत्मविश्वास । इजरायलमा अहिले मध्यपूर्वको क्षेत्रीय महाशक्ति बन्न सक्ने र यस भेगलाई नै पुनः आकार दिन सक्ने आफ्नो क्षमताप्रति धेरै आत्मबल बढेको देखिन्छ । जस्तो, अघिल्लो अमेरिकी प्रशासन (बाइडेन)ले इजरायललाई लेबनानका हिज्बुल्लाहमाथि आक्रमण नगर्न चेतावनी दिएको थियो । बदलामा हिज्बुल्लाहले विनाशकारी जवाफी आक्रमण गर्ने उसको चिन्ता थियो । तर, बेन्जामिन नेतन्याहुको सरकारले ती चेतावनीलाई बेवास्ता गर्यो र हिज्बुल्लाहको पूरा शीर्ष तह नै समूल नष्ट गरिदियो । त्यसले गर्दा हिज्बुल्लाह अहिले निकै कमजोर बनेको छ । इजरायल अब आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी इरानमाथि सीधै आक्रमण गर्न अघि बढेको छ ।
पाँचौँ कारण, गाजामाथिको इजरायली आक्रमणले अनिकाल निम्त्याउन लागेको स्थितिमा बढ्दो अन्तर्राष्ट्रिय विरोधबाट अन्यत्र ध्यान मोड्ने इजरायली चाहनाले भूमिका खेलेको छ । इरानमाथि आक्रमण र त्यसपछिको सम्भावित द्वन्द्वले विश्वको ध्यान गाजाभन्दा ठुलो मुद्दामा मोडिने निश्चित छ । अहिले गाजालाई लिएर इजरायलको आलोचना गर्न थालेका युरोपेली देशहरूसमेत इरानसँगको युद्धमा तेलअभिवको बचाउमा आउन बाध्य हुनेछन् ।
छैटौँ र अन्तिम कारक भनेको इरानसँग ट्रम्प प्रशासनले गरिरहेको आणविक वार्ताप्रति इजरायलले विश्वास गुमाउँदै गएको थियो । इजरायलीहरूले अमेरिका–इरानबिच जारी वार्ता गलत मात्र नभएर खतरनाक मानेका थिए । कुनै प्रकारको सहमतिमा इरानलाई आणविक कार्यक्रम जारी राख्ने छुट दिने सम्भावना पनि थियो । यसै सप्ताहान्तमा इरान र अमेरिकाबिचको महत्वपूर्ण वार्ताको तालिका सार्वजनिक भएसँगै इजरायलले तत्काल कारबाहीमा उत्रिने निर्णय गर्यो ।
ट्रम्प प्रशासन इजरायली कारबाही हुन सक्छ भन्नेबारेमा सम्भवतः राम्ररी जानकार थियो । हालैका दिनहरूमा, वरिष्ठ अमेरिकी अधिकारीहरूले युरोपेली मित्रहरूलाई इरानसँग सम्झौताको राम्रो मौका रहेको, तर इजरायल सम्झौताबाट सन्तुष्ट नहुने बताउन थालेका थिए । र, उनीहरूले नेतन्याहु सरकार इरानमाथि आक्रमण गर्न व्यग्र रहेको बताउँथे । एक हप्ताअघि मात्र अमेरिकाले युरोपमा रहेका आफ्ना क्षेप्यास्त्रबाट प्रतिरक्षा गर्ने प्रणाली इजरायलमा सारेको थियो । साथै, यस क्षेत्रमा तैनाथ आफ्ना केही सैन्य अधिकारीलाई अन्यत्र सारेको थियो । यी घटनाक्रमले अमेरिका इजरायली आक्रमणबारे राम्ररी जानकार रहेको संकेत गर्छ ।
अहिले आक्रमण गरेर इजरायलले ट्रम्प प्रशासनभित्र इरानविरुद्धको आक्रमणमा इजरायललाई सहयोग गर्ने कि आफैँ सहभागी हुने भनेर चलेको गर्मागरम बहसलाई पनि अन्त्य गरिदिएको छ । राष्ट्रपति ट्रम्पले मे महिनाको सुरुमा माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गर्दा प्रशासनका युद्ध पक्षधर, इजरायल–समर्थक गुट कमजोर भएको विश्वास गरिएको थियो । हुन पनि त्यतिवेला संयमताको वकालत गर्ने र मध्यपूर्वमा थप अमेरिकी युद्धको विरोध गर्नेहरूको हात माथि भएको थियो । तर, इजरायलको आक्रमणले ट्रम्प प्रशासनमा यस समूहका सदस्यहरूलाई अहिले अलमल्लमा पारिदिएको छ ।
हालैको हिज्बुल्लाहको उदाहरणबाट नेतन्याहु सरकारले जानिसकेको छ कि संयमता अपनाउन आएको अमेरिकी अनुरोधलाई बेवास्ता गर्न सकिन्छ । अमेरिका र यसका सहयोगीहरू इरानबाट हुने आक्रमणको समयमा इजरायलको प्रतिरक्षामा उत्रिनेछन् । यसको विकल्प तेलअभिव ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनको प्रहारमा परेको हेर्नुपर्ने हुन सक्छ । कुनै पनि अमेरिकी सरकारले यो विकल्प स्विकार्दैन ।
यसका बाबजुद यदि इजरायलले अमेरिकालाई अर्को मध्यपूर्वको युद्धमा तानेको देखिएमा उसले अमेरिकामा दीर्घकालीन मूल्य चुकाउने जोखिम उठाउनेछ । जस्तो ट्रम्प प्रशासन देशभित्र मुद्रास्फीति नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । मध्यपूर्वमा हुने ठुलो युद्धले विश्वव्यापी रूपमा तेलको मूल्य बढ्ने निश्चित हुन्छ । त्यस्तोमा अमेरिका निराश हुनेछ ।
युरोपेली सरकारले समस्याका लागि तयारी बढाएका छन् । तर, पनि उनीहरू खाडीका ढुवानीमाथिको आक्रमण, बढ्दो ऊर्जा मूल्य, शरणार्थीहरूको नयाँ प्रवाह र इजिप्टजस्ता यस क्षेत्रका प्रमुख देशहरूको स्थिरताबारे चिन्तित छन् । अब के हुन्छ भन्ने कुरा इरानी प्रतिशोधको मात्रा र प्रभावकारितामा निर्भर गर्दछ । जुन आगामी दिनहरूमा धेरै हदसम्म स्पष्ट हुँदै जानेछ । यदि इरानले इजरायलमाथि सीधै प्रहार गर्न संघर्ष गरिरहेको छ भने उसले कतार र बहराइनजस्ता देशमा रहेका अमेरिकी अड्डालाई निसाना बनाउन सक्छ । तर, त्यस्तो कदमले उसैलाई घाटा पुग्नेछ, किनकि त्यस्तो कदमले युद्धमा पूर्णतः अमेरिकालाई तान्नेछ ।
क्षेत्रीय रणनीतिकारहरूले लामो समयदेखि भन्दै आएका अन्य जोखिमपूर्ण इरानी विकल्प पनि छन् । तिनमा यस क्षेत्रबाट बाहिर जाने तेलको ढुवानी रोक्ने विकल्प पनि छ । साउदी अरबले लामो समयदेखि आफ्नो पानी आपूर्तिको महत्वपूर्ण स्रोत ‘डिसेलिनेसन प्लान्ट’(समुद्री पानीलाई शुद्ध पानीमा बदल्ने संयन्त्र)माथि आक्रमणप्रति चिन्ता व्यक्त गर्ने गरेको छ । तर, त्यस्तो आक्रमणले इरानमाथि इजरायलबाहेक अन्य देश युद्धलाई पनि तान्नेछ । तर, इजरायली नेतालाईजस्तै इरानी शासकलाई अबका दिन आफ्नो अस्तित्वको लडाइँ महसुस भएको हुन सक्छ । आखिर, वर्तमान शासकलाई इरानी जनता र व्यापक क्षेत्रलाई पनि आफ्नो शक्ति प्रदर्शन गर्नुपर्ने दबाब आइपरेको छ । यसैले, इरान–इजरायलबिचको तनावको चक्र भर्खरै सुरु मात्रै भएको हुन सक्छ ।
द फाइनान्सियल टाइम्सबाट