
भुटानको थिम्पुमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्ण हात पारेको छ । ३०–३१ जेठमा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजत जितेको हो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले सहभागिता जनाएका थिए ।
महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा शिला ठकुरीले रजत जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमुनि अवतार श्रेष्ठले रजत हात पारे । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमाथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहे ।
यसैबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीलाई बधाई दिएका छन् । सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितेको बताए ।