१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
माधवकुमार पौडेल
२o८२ जेठ ३१ शनिबार o९:३१:oo
Read Time : > 3 मिनेट
साहित्य प्रिन्ट संस्करण

अल्पविकासको अर्थ–राजनीति चियाउने आँखीझ्याल

पुस्तक समीक्षा

Read Time : > 3 मिनेट
माधवकुमार पौडेल
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o९:३१:oo

विद्यालय, विश्वविद्यालय तहको अध्ययन पूरा हुँदानहुँदै हरेक युवाले आफ्नो वृत्तिविकासको बाटो समात्न खोजेको हुन्छ । जस क्रममा उसले कुनै न कुनै पेसा व्यवसाय वा अन्य कामको छनोट गरी जीवनयात्रा सुरु गरेको हुन्छ ।

समाजको बृहत्तर हित र समाज सुधारका लागि निरन्तरको अध्ययन, लेखन र चिन्तन मननतर्फ भने कमैले ध्यान दिने गर्छन् । यस्तै कमभित्र पर्छन् मनिकर कार्की । समसामयिक अर्थ–राजनीतिमाथि निरन्तर विमर्श गरिरहेका लेखक कार्कीले हालसालैै नयाँ पुस्तक ‘अर्थदृष्टि’ अल्पविकासको अर्थराजनीति सार्वजनिक गरेका छन् । 

जेन वाई पुस्ताका कार्की आधुनिक विचार र विश्वव्यापी चेतनाका पनि संवाहक हुन् । उनमा पारम्परिक जागिरभन्दा रचनात्मक क्षेत्रमा काम गर्ने हुटहुटी थियो र नै सुरक्षित भविष्यलाई त्यति धेरै महत्व दिएनन् । परिणामस्वरूप उनले चिन्तन, लेखन र राजनीतिक कर्मको कठिन यात्रा रोजे । देशको विषम आर्थिक अवस्थाका कारण यो पुस्ताका धेरै युवाले रोजगारीका अवसर र आर्थिक स्थिरताको चुनौती सामना गरिरहेका छन् । जसले गर्दा उनीहरूमा निराशा वा बिदेसिने चाहना बढ्दो छ । केही अपवादबाहेक धेरै जेन वाई युवामा राजनीतिक दल र प्रक्रियाप्रति उदासीनता र चरम असन्तुष्टि देखिन्छ ।

तर, मनिकर कार्की भने समग्र पुस्ताकै लागि एक अपवाद बनिदिए । उनी यस्ता विशिष्ट प्रतिनिधि पात्र बनिदिए, जसले बैंक वित्तीय संस्थाको जागिर, प्राध्यापन, मिडिया व्यवस्थापन हुँदै लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जागिरसमेत छाडेर लेखन र राजनीतिमा होमिए । उनी हाल सामाजिक विज्ञानको क्षेत्रमा स्वतन्त्र अनुसन्धाताका रूपमा समेत कार्यरत छन् । एक दशकअघि नै उनले आफ्नो पहिलो पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ पाठकसामु ल्याइसकेका छन् ।

‘अर्थदृष्टि’ उनको दोस्रो पुस्तक हो । यसले ऐतिहासिक कालखण्डदेखिकै नेपालको अर्थराजनीतिलाई मिहिन ढंगले चिरफार गरेको छ । पुस्तक नेपाली समाज, अर्थतन्त्र र राजनीतिको चरित्र बुझ्न आवश्यक पर्ने पर्याप्त सन्दर्भ सामग्रीसहितको आनुभविक (एम्पिरिकल) दस्ताबेज बनेको छ । यसले युवा पुस्ताका पाठक र अध्येतालाई ज्ञान निर्माण र विस्तारमा ठुलो सघाउ पुर्‍याउन सक्छ । गरिबी, कृषिमा निर्भरता, अपर्याप्त पूर्वाधार, राजनीतिक अस्थिता, स्रोतसाधनको असन्तुलित वितरण र शिक्षा/स्वास्थ्यमाथिको सीमित पहुँच अल्पविकासका मुख्य कारण हुन् । त्यस्तै सर्वव्यापी भ्राष्टाचार, अनुचित व्यापार अभ्यास र शोषण/विभेदको ऐतिहासिक स्वरूपले अल्पविकासलाई मलजल गरिरहेको छ । कार्कीले आफ्नो पुस्तकमा यिनै तथ्यलाई विभिन्न कोणबाट मिहिन विश्लेषण गरेका छन् । 

नेपाल निर्माणकालदेखि गणतन्त्रसम्मको आर्थिक चरित्रचित्रण
पुस्तकमा खास गरेर नेपालको राजनीतिक आर्थिक इतिहाससँग सम्बन्धित लगभग सबैजसो लेखक/किताबका मूलभूत दृष्टिकोणलाई सन्दर्भको रूपमा लिएर सामयिक विमर्शको प्रयास गरिएको छ । पुस्तकले नेपाल निर्माण कालखण्डदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको आर्थिक चरित्रलाई उजागर गरेको छ भने विश्व अर्थराजनीतिको पछिल्लो प्याराडाइममा देखापरेका विश्वविख्यात लेखकका विचार र सबैजसो बेस्ट सेलर कृतिका सारसमेत खिचिएको हुँदा यो पुस्तक अनुसन्धानमूलक कृतिको उत्कृष्ट नमुना बन्न पुगेको छ । 

पृथ्वीनारायण शाहको राज्य विस्तार (एकीकरण ?), शाहवंशीय काल, राणा काल, प्रजातन्त्रको उदय (२००७) हुँदै पञ्चायतकालको अर्थराजनीतिको इतिहास, ०४६ को परिवर्तन, १० वर्षे सशस्त्र द्वन्द्व र पछिल्लो ०६२/०६३ को जनक्रान्तिको इतिहासबारे हामी सबै थोरबहुत जानकार नै छौँ । तर, यही राजनीतिभित्रको अन्योन्याश्रित पाटो अर्थनीति र अर्थराजनीतिको सम्बन्ध/प्रभावबारे भने नेपालमा कमै विमर्श हुने गर्छ ।

लेखक कार्कीले पुस्तकमा ती राजनीतिक कालखण्डलाई आर्थिक कोणबाट चिरफार गर्ने जमर्को गरेका छन् । अतः उनको यो पुस्तकको नामले अर्थदृष्टि भए पनि मूलतः नेपालको समग्र अर्थराजनीतिको आँखिझ्याल बन्न पुगेको छ । मुख्य पाँच अध्यायमा समेटिएको पुस्तकको पहिलो अध्याय हो, इतिहासको अर्थदृष्टि । पहिलो अध्यायले नेपाली समाज र अर्थतन्त्रको ऐतिहासिक चरित्र उजिल्याउने काम गरेको छ । जसक्रममा कार्कीले ‘नेपाल’ राज्य निर्माणपूर्वदेखि सन् २००६ को राजनीतिक परिवर्तनयताको डेढ दशकको अर्थराजनीतिलाई चिरफार गर्दै नेपालको इतिहासमा अर्थदृष्टिको गहन खोजतलास गरेका छन् ।

अध्याय दुईले भने नेपाली अर्थतन्त्रले अंगीकार गरेको ढाँचा र स्वरूपमाथि प्रकाश पारेको छ । अध्याय तीनमा उनले समकालीन नेपालको अर्थतन्त्रका समस्या उधिन्ने प्रयास गरेका छन् । वैदेशिक रोजगारी, विप्रेषण, सार्वजनिक ऋणका कुरा सरल र सरस तरिकाले बुझ्न सकिन्छ, यस अध्यायमा । आवश्यक स्थानमा यथेष्ट चित्र, तालिकामार्पmत सूचना, तथ्यांक राखेर लेखिएको यो किताब बोधगम्य छ । अर्थशास्त्र नपढेका, नबुझेका सामान्य पाठकले समेत अर्थतन्त्रबारे सजिलै ज्ञान हासिल गर्न सक्छन् । अर्थशास्त्रका जटिल शब्दावली र सिद्धान्तलाई सरल तरिकाले व्याख्या गरिएको छ ।

मूलतः मनिकर कार्की माक्र्सवादी/समाजवादी हुन् । उनको राजनीतिक चेतना र दृष्टिकोण माक्र्सवादनिकट भएको हुँदा पुँजीवादको प्रशस्त आलोचना भेट्न सकिन्छ पुस्तकमा । कतिपय प्रसंगमा केही ऐतिहासिक घटनाक्रम दोहोरिएर आएका देखिन्छन्, तथापि त्यसको कोण भने फरक नै देखापर्छ ।

सम्भवतः पुस्तकको त्यही कमजोरीलाई औँल्याउँदै राजनीतिज्ञ घनश्याम भुसालले अर्थदृष्टिको बुटवल विमर्शमा भनेका थिए, लेखकलाई एउटै कुराले अलि बढी ऐँठन बनाएछ– अरू धेरै देशले सामाजिक आर्थिक फड्को मार्दा हामी किन पछि परिरह्यौँ ? 

इतिहासमा हाम्रा समकक्षी देशले गएको ५०–६० वर्षको अवधिमा आर्थिक विकासमा छलाङ मार्दै गर्दा आधुनिक नेपालको आर्थिक इतिहासले पनि लगभग त्यति नै समय पार गरेको छ । तर पनि किन नेपालको आर्थिक विकास हुन सकेन ? उत्तर सरल छ, आर्थिक विकास र उत्पादनको सवालमा नेपालका शासकले अहिलेसम्म आफ्नो कुनै दृष्टिकोण र योजना नै निर्माण गरेनन् । (पृष्ठ १०७)

त्यस्तै पृष्ठ ११४ मा लेखिएको छ–
नीति निर्माताले कृषि नबुझ्दार नचिन्दा कृषि उत्पादन र उत्पादकत्व बढाउने कुरा केवल कागजी योजनामै सीमित हुन पुगेको छ ।

यस्ता प्रसंगलाई धेरै ठाउँमा पटक–पटक नदोहोर्‍याउन लेखकले प्राज्ञिक लेखनको सहायता लिएर उद्धरण (साइटेसन) कलाको प्रयोग गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो । पुस्तकले समेट्न खोजेको क्षेत्र (स्कोप) बृहत् छ, तर किताबको आकार सानो हुँदा धेरै कुराको विश्लेषण छुटेको छ । 

(लेखक अर्थ–राजनीतिमा निरन्तर कलम चलाउने अध्येता/अध्यापक हुन्)