
नेपालकी सन्तोषी श्रेष्ठले नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि जितेकी छिन् । शनिबार दशरथ रंगशालामा भएको महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषीले निर्धारित दूरी एक घण्टा ३१ मिनेट ४३ सेकेन्डको पूरा गरेकी हुन् । आर्मीकी नीशा सार्की दोस्रो भइन् ।
उनले एक घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन् । एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले एक घण्टा ३८ मिनेट ०९ सेकेन्डमा दूरी तय गरिन् । २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकी विजयी भएका छन् ।
महिला र पुरुष दुवैतर्फ विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।
पुरुषतर्फ केन्याका खेलाडी विजयी
२५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकी विजयी भएका छन् । उनले एक घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भएका छन् । उनले एक घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे । एक घण्टा १८ मिनेट ५१ सेकेन्डको समयमा सुशील केसी तेस्रो भए ।
अन्य विधातर्फ
पाँच किलोमिटरअन्तर्गत यू–१८ पुरूषमा अजय पाण्डे क्षेत्री पहिलो भए । उनले १७ मिनेट १२ सेकेन्डमा दौड सकाए । १७ मिनेट ४४ सेकेन्डमा दूरी तय गरेका सन्दीप सेन्चुरी दोस्रो हुँदा अमृत विश्वकर्मा तेस्रो भए । उनले १८ मिनेट १३ सेकेन्डको टाइमिङ निकाले । यू–१८ महिलामा २१ मिनेट ४७.६६ सेकेन्डको टाइमिङमा अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए ।
भगवतीले २२ मिनेट २७ दशमलव ८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०.७८ सेकेन्डको टाइमिङमा रेस सकाएका थिए । पाँच किलोमिटर भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए । उनले १८ मिनेट ३१ मिनेट ३१. १५ सेकेन्डको टाइमिङमा उपाधि जित्न सफल भए । लेप्सङ तामाङ दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए । पाँच किलोमिटर भेट्रान महिलामा २६ मिनेट १९.७९ सेकेन्डमा शर्मिला बस्नेतले पहिलो स्थान प्राप्त गरिन् ।