
पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २, अबरैयामा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुवासहित दुईजनाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार २७ वर्षीय हेमराज थारूले शुक्रबार बिहान साढे १० बजेतिर आफ्नै बुवा ५० वर्षीय जयाराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन् ।
हत्यामा संलग्न हेमराज थारू र उनले हत्यामा प्रयोग गरेको हतियार कोदालो घटनास्थलबाट प्रहरीले नियन्त्रणलाई लिएको छ । अहिले घटनास्थलमा प्रहरीले मुचुल्का बनाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिए ।
प्रहरीका अनुसार हेमराजले बुवा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा सातजनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमान्डमा २९ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनाको अनुसन्धान भइरहेको र हत्याकाे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।