
कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशीमा डल्फिनको संख्यामा वृद्धि भएको जनाएको छ। आज वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीनवटा डल्फिनको संख्या बढेको पाइएको हो ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । उनले भने, ‘यो तथ्यांक सप्तकोशीका लागि सकारात्मक र परिवर्तनको एक संकेत हो, यसलाई संरक्षण र प्रचार गर्न आवश्यक छ ।’
यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गंगेटिक प्रजातिको डल्फिन पाइन्छ । जुन दुर्लभ मानिन्छ । संरक्षण अधिकृत यादवले भने, ‘डल्फिन सफा र गहिरो पानीमा बाँच्न मन पराउँछ, जसले यहाँको जल स्वस्थ र गुणस्तर रहेको सन्देश पनि दिएको छ ।’
गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भीमकाली गुल्म तथा हिमाली प्रकृति संस्थालगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ र २०२४ मा समान रूपमा १९ डल्फिनको गणना गरेको थियो । आरक्षले डल्फिनकोे संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।