
नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
बैंकले प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधासम्पन्न सेवा दिँदै आएको छ । कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौँ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौँ,‘ज्ञवालीले भने । यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ ।