
झापाको कन्काई– २, सुकेडाँडामा तीन वर्षयता उत्पादन भइरहेको, तर पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बायोग्यास प्लान्टबाट सुरुंगा बजारआसपासका हजार घरमा पाइपलाइनमार्फत चुलामा ग्यास पुर्याउन पहल भएको छ । नेपाल आयल निगम नै साझेदार बनेर प्रोजेक्ट सञ्चालन गर्ने प्रक्रिया अघि बढेको हो ।
प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि आयल निगम र बायोग्यास प्लान्ट उत्पादक ‘कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड’बिच लगानी साझेदार बन्न तयार भएका थिए । प्रधानमन्त्री ओलीले निगम र बायोग्यास उत्पादक कम्पनीका प्रतिनिधिलाई १४ जेठमा बालुवाटार बोलाएर घरघरमा बायोग्यास पुर्याउने कामलाई ‘पाइलट प्रोजेक्ट’का रूपमा काम अघि बढाउन निर्देशन दिएका थिए ।
बालुवाटारको बैठकमा बायोग्यास प्लान्ट कम्पनीमा लगानी गरेका झापाका तीन स्थानीय तह कन्काई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईं र अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङसहित कम्पनीका अध्यक्ष मिनाल तिमिल्सिना सहभागी थिए । त्यस्तै, आयल निगमका तर्फबाट सञ्चालक समिति अध्यक्ष रहेका तत्कालीन वाणिज्य तथा आपूर्तिसचिव गोविन्दबहादुर कार्की, कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट, उपनिर्देशक प्रदीप यादव, काठमाडौं विश्व विद्यालय, कन्सल्टेन्सी सेवा विभाग प्रमुख डा. विवेक बराललगायत सहभागी थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले छिटो काम सक्न निर्देशन दिएको कन्काई नगरपालिका प्रमुख पोखरेलले जानकारी दिए । ‘प्रधानमन्त्रीले बायोग्यास उत्पादक कम्पनीमा आयल निगमलाई पनि लगानी साझेदारका रूपमा भित्र्याएर छिटो परियोजना सक्नू भन्ने निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यसपछि कम्पनीको सञ्चालक समिति बैठक बसेर निगमलाई लगानी साझेदार भित्र्याउने निर्णय गरिसक्यौँ । अब चाँडै निगमका अधिकारीसँग बैठक बस्नेछौँ ।’
दुवै पब्लिक लिमिटेड कम्पनी भएकाले साझेदारी गर्न कुनै कानुनी समस्यासमेत नदेखिएको उनले बताए । त्यस्तै, बिर्तामोड नगरपालिका प्रमुख प्रसाईंले पनि आयल निगमलाई लगानी साझेदारका रूपमा भित्र्याउने निर्णय भइसकेको बताइन् । ‘घर–घरमा पाइपलाइनबाट ग्यास पुर्याउने प्रधानमन्त्रीको पहिलेदेखिकै योजना हो । उहाँले यो परियोजनामार्फत पाइपलाइनबाट बायोग्यास घर–घरमा पुर्याउने कार्य छिटो सक्न निर्देशन दिनुभएको छ,’ प्रसाईंले भनिन् । अर्जुनधारा नगरपालिका प्रमुख तामाङले प्रधानमन्त्री ओलीसँगको बैठकलगत्तै परियोजना अघि बढाउन आवश्यक कदम चालिएको बताए ।
बायोग्यास उत्पादक कम्पनीका अध्यक्ष तिमिल्सिनाले आयल निगमलाई लगानी साझेदार बनाउने सञ्चालक समितिबाट निर्णय गराई जानकारीसमेत गराएको बताए । ‘अब दुई–तीन दिनमै निगमसँग बैठक बस्ने तय भएको छ । त्यसैले, झापा नफर्किएर म त काठमाडौंमै बसेको छु,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि छिटो प्रक्रिया सकेर काम थाल्न भनेकाले अलमल गर्ने पक्षमा छैनौँ ।’
आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले बायोग्यास प्लान्टमा लगानी गर्नेबारे प्रधानमन्त्री ओलीसँग छलफल भएर आवश्यक प्रक्रिया अघि बढाइएको बताए । ‘बायोग्यास प्लान्टलाई पाइपलाइन जडानका लागि लगानी आवश्यक परेको रहेछ, त्यसमा हामीले सहकार्य गर्नेबारे प्रधानमन्त्रीज्यूसँग छलफल भएको हो,’ भट्टले भने, ‘अनुदान दिने कि लगानी गर्ने भन्नेबारेमा टुंगो लागेको छैन ।’
सरकारले निर्णय गरेर निर्देशन दिए अनुदान नै प्रवाह गर्न सक्ने पनि उनले बताए । ‘सेयर लगानी गर्नेबारे भने ठोस छलफल भइसकेको छैन,’ उनले भने । प्रधानमन्त्री ओलीले यसअघि २३ वैशाखमा उद्योगमन्त्री भण्डारीसहितका मन्त्रालयका कर्मचारी र बायोग्यास प्लान्टका लगानीकर्तालाई बोलाएर परियोजना अघि बढाउन निर्देश गरेका थिए ।
सुकेडाँडामा रहेको प्लान्टमा कुहिने फोहोर र गोबर प्रशोधन गरेर बायोग्यास उत्पादन भइरहेको छ । तर, पाइपलाइन नहुँदा उत्पादित बायोग्यास प्रयोगमा आउन सकेको छैन । पाइपलाइन जडानका लागि करिब सात करोड लाग्ने र उक्त रकम निगमले सेयरबापत लगानी गरेर परियोजना अघि बढाउने प्रारम्भिक समझदारी छ ।
तीन वर्षदेखि उत्पादन भइरहेको छ ग्यास, तर पूर्ण उपयोग हुन सकेको छैन प्लान्ट
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा ०७५ देखि निर्माण थालिएको प्लान्टबाट तीन वर्षयता नै बायोग्यास उत्पादन भइरहेको छ । तर, पूर्वाधार नहुँदा दैनिक ६५० किलो उत्पादन क्षमता भएको प्लान्ट पूर्ण उपयोग हुन सकेको छैन । ५० किलोको सिलिन्डरमा ६ किलो ग्यास भरेर केही होटेलमा आपूर्ति गरिरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । फोहोरमैलाको व्यवस्थापन, जैविक मल उत्पादन र वार्षिक अर्बौँको एलपी ग्यास आयातमा भइरहेको घाटा न्यूनीकरणका लागि बायोग्यासको प्रयोग बढाउनु जरुरी रहेको निगमको भनाइ छ । कन्काई, बिर्तामोड र अर्जुनधाराको नकुहिने फोहोर र पशुको गोबर प्रशोधन गरी बायोग्यास उत्पादन भइरहेको छ ।
झापाकै दमकमा तीन वर्षदेखि दिनमै १५ सय केजी बायोग्यास उत्पादन, तर प्रयोगमै ल्याइएन
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा निर्माण गरिएको बायोग्यास उत्पादन सुरु भएको तीन वर्षसम्म पनि प्रयोगविहीन छ । दैनिक दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्ने गरी निर्माण गरिएको बायोग्यास प्लान्ट उत्पादनको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन ।
दमक नगरपालिकाको फोहोर व्यवस्थापन पनि हुने र फोहोरबाट बायोग्यास उत्पादन हुने योजनाको साथ बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । दमक– २ स्थित हम्सेदुम्से वन क्षेत्रको तीन बिघा क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरिएको छ ।
दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच १० माघ ०७६ मा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा सम्झौता भएको थियो । जसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । फोहोरबाट ग्यास उत्पादन गर्ने र उत्पादित ग्यासबाट २० वर्षसम्म निजी कम्पनीले व्यापार गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।
कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने र नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी योजना अघि सारिएको थियो । तर, उत्पादन भएको ग्यास अहिले प्रयोगविहीन छ । नेक्स्टइरा इनर्जी प्रालि प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार यो प्लान्टबाट दैनिक दुई हजार दुई सय केजी बायोग्यास उत्पादन हुन्छ । यो ग्यासले दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्छ । यद्यपि, अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन । तर, फोहोरबाट दैनिक करिब १५ सय केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको उनले बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीले सिलिन्डरमा भरेर ग्यास बिक्री गर्ने सम्झौता गरेको थियो । यद्यपि, पछि नगरपालिका र तत्कालीन समयमा प्रधानमन्त्री ओलीसँग पाइपलाइन विस्तारको मौखिक सहमति भएको खतिवडाले बताए । नगरपालिकाले पनि पहल गर्ने र ओलीले पनि प्रक्रिया अगाडि बढाउने वचन दिएका थिए । कम्पनीले पाइपलाइन विस्तारका लागि डिपिआरसमेत तयार गरिसकेको थियो । तर, कार्यान्वयनमा नआउँदा ग्यास प्रयोगविहीन भएको छ । ‘बायोग्यास प्रयोगमा ल्याउने विषय अघि बढेको छैन । पाइपलाइनबाट वितरण गर्दा सहज हुने हो, तर त्यो खर्चिलो छ । २० वर्षमा सरकारलाई बुझाउनुपर्ने भएका कारण सक्ने अवस्था छैन । पाइपलाइनबाट वितरण गर्ने वा सिलिन्डरमा भरेर बेच्ने दुवैमा प्रयासरत छौँ,’ खतिवडाले भने, ‘तर, त्यो दुवै काम हुन सकेको छैन । उत्पादन भएको ग्यास बालेर फालिरहेका छौँ ।’
खतिवडाका अनुसार अहिले दमकबाट उत्पादन भएको करिब ४० टन फोहोरबाट प्रांगारिक मल उत्पादन भइरहेको छ । दैनिक करिब दश टन मल उत्पादन गरेर बिक्री गरिरहेको उनले बताए । मल प्रयोगशालाबाट पनि पास भएको उनको भनाइ छ । ग्यास प्रयोग नहुँदा दमकको फोहोर व्यवस्थापनमा समेत चुनौती थपिँदै गएको छ । दमकबाट उत्पादन भएको फोहोर नजिकैको हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा फाल्नुपर्ने अवस्था छ । केही समयअघि दमकको फोहोरले इलामको चुलाचुलीवासीलाई असर गरेको भन्दै चुलाचुली– ६ का स्थानीय आन्दोलनमा उत्रिएर फोहोर ल्याँक्न अवरोध गरेका थिए । अवरोध गरेको पाँच दिनपछि दमक नगरपालिका र आन्दोलनरत पक्षबिच सहमति भएपछि अहिले फोहोर फ्याँक्न गरिएको अवरोध हटेको छ ।