
सहरको मध्यभागमा रहेको नन्दीरात्रि माध्यमिक विद्यालयसँगै जोडिएको छ, नक्साल हिटी (ढुंगेधारा) । राति झलमल हुने हिटीमा चौबीसै घण्टा कलकल पानी झरिरहेको छ । हिटीवरपर सफा र चिटिक्क पारिएको छ । हिटीछेउ पुग्दा यहाँको मोहक दृश्य देखेर जोकोही टक्क उभिने गर्छन् । यसरी सुन्दर, सफा र कलकल पानी झर्ने बन्नका लागि हिटीले साढे दुई दशक कुर्नुपर्यो ।
नजिकै पुग्दा फोहोरका कारण नाक खुम्चाउनुपर्ने अवस्थाको हिटीमा कलकल पानी झार्न कसरी सम्भव भयो ? यो पानी कहिलेसम्म आउँछ ? यो ठाउँमा हिटी कसरी बन्यो ? यावत् विषय जान्न हामी हिटीलाई अहिलेको अवस्थामा ल्याएको काठमाडौं महानगरअन्तर्गत सम्पदा तथा पर्यटन शाखा पुग्यौँ । यो हिटी किन पनि महत्वपूर्ण छ भने संघीयतापछि दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको पहिलो हिटी हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले हप्ता दिनअघि सामाजिक सञ्जाल फेसबुकमा यही हिटीबारे लेखेका थिए । हिटीको पानी निकास बन्द गरेर निर्माण भएका घरलाई जरिवाना गराएर हिटीमा पानी आउने अवस्था बनेको उनले बताएका थिए । ‘०७९ सालको भदौ महिनामा हामी ३२ वटै वडामा अनुगमनका लागि गएका थियौँ । सोही क्रममा नक्साल हिटीको पनि अनुगमन भएको थियो । सो क्रममा स्थानीयले उक्त हिटीमा करिब ०५५ सालदेखि पानी निकास नभएको जानकारी दिए । उक्त जानकारी पाएपछि समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौँ,’ उनले लेखेका छन्, ‘विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो । करिब चार फिट खन्दा उक्त मंगल भेटियो । तर, त्यस मंगलमा पानीको बहाव देखिएन । सोही क्रममा उक्त मंगलसँग जोडिएका तीनवटा घरले पनि हिटीको निकास अवरुद्ध पारेको पत्ता लाग्यो । छलफलका क्रममा पुरानो मंगलमार्फत पानीको निकास सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मंगल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो । त्यसअनुसार तीनवटा घरधनीलाई जनही दुई–दुई लाख जरिवाना गराई उक्त रकमबाट नयाँ मंगल निर्माण गरिएको हो ।’
यसरी बन्यो हिटी पुनर्निर्माण योजना
मेयर शाहले यस्तो लेखिरहँदा विभागीय प्रमुख कुमारी राईको भनाइमा पनि यस्ता हिटीलगायत सम्पदा संरक्षणका लागि महानगरमा दोस्रो कार्यकाल निर्वाचित भएर आउने जनप्रतिनिधिले स्वर्णिम र गौरवका योजना भनेर बनाएका थिए । तीन वर्षभित्र सम्पन्न गर्ने गरी बनाएका त्यस्ता योजनाअन्तर्गत थु्रपै ठाउँमा हिटी निर्माण भइरहेका छन् । महानगरले सुरु गरेको पुनर्निर्माण अभियानअन्तर्गत सम्पन्न हुने नक्साल पहिलो हिटी हो । ‘०६९ मा आएका जनप्रतिनिधिले सम्पदालक्षित कार्यक्रम गर्ने, हिटी अभिलेखीकरण गर्ने, भत्किएका, पुरिएका, हराएका हिटी खोज्ने, उत्खनन् गर्ने, पुनर्निर्माण गर्ने, पानी आउने स्रोत र निकास खोजेर चलायमान बनाउने उद्देश्यअनुसार हिटीलाई गौरवको योजनाअन्तर्गत काम गर्न थालियो । स्वर्णिमको योजनाअन्तर्गत ढुंगेधारा सरसफाइ गर्ने, मर्मत गर्ने, पानीको स्रोत र निकास खोज्ने हुन थाल्यो,’ विभागीय प्रमुख राईले भनिन् । महानगरले स्वर्णिम र गौरवको योजनामै उल्लेख गरेर हिटी निर्माणका लागि स्थानीय सहभाागी हुने गरी उपभोक्ता समितिमार्फत काम सुरु गर्यो । समयमै निर्माण सम्पन्न गर्न आफ्ना तर्फबाट गर्नुपर्ने सबै खालका सहयोग गर्यो । यो हिटी निर्माण सम्पन्न भएसँगै महानगरले अरू हिटी पुनर्निर्माण पनि समयमै सक्ने गरी काम गर्न लागेको छ । ‘पुर्खाले पानीका लागि प्रणाली बनाएको थियो । त्यसमा फेरि पानी प्रवाह गराउँदै छौँ । यही हेर्नका लागि विदेशी पर्यटक आउँछन् । अहिले नै अध्ययनका लागि भनेर कति विदेशी आएका छन् । पर्यटकीय हिसाबले धेरै राम्रो हुने देखिन्छ,’ राईले भनिन् ।
१४ सय वर्षअघि नै बनेको हिटी
करिब आठ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरेपछि दुईवटा स्रोतबाट पानी आउन थालेको छ । अब यहाँ पानी प्रवाह पनि निरन्तर हुने भएको छ । पछिल्लो आठ महिनामा एक दिन पनि पानीको प्रभाव नरोकिएको नक्साल सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष मनोज ताम्राकार बताउँछन् । ‘काम गर्दै जाने क्रममा पछिल्लो आठ महिनामा एक दिन पनि हिटीमा पानी रोकिएको छैन । त्यसैले, बर्खायाममा मात्र होइन, अरू वेला पनि निरन्तर रूपमा पानी आउने गरी हिटी पुनर्निर्माण भएको छ,’ अध्यक्ष ताम्राकारले भने ।
नक्सालमा निर्माण भएको यो हिटीको इतिहास निकै लामो छ । इतिहासकार धनवज्र बज्राचार्यद्वारा लिखित पुस्तक लिच्छविकालको अभिलेखअनुसार विसं ६६८ सालमा निर्माण गरिएको हो । हिटी बनाउने क्रममा यसको इतिहास खोज्दै जाँदा यो हिटी १४ सय वर्ष अघि बनेको भेटिएको थियो । ‘नक्सालमा रहेकाले यो हिटीलाई धेरैले नक्साल ढुंगेधाराको रूपमा चिने । तर, मरुको हिटीलाई मरु हिटी, यंगाको हिटीलाई यंगा हिटी भनेको जस्तै यो नसा हिटी हो । हामीले यो हिटीबारे धेरै खोज्यौँ । खोज्नका लागि हामीसँग किताबबाहेक केही थिएन,’ उनले भने ।
हिटीमा निरन्तर पानी ल्याउने भनेर लागेको उपभोक्ता समितिको अहोरात्र खटाइले पानी आउन सम्भव भएको हो । सुरुवाती अवधिमा पानीको निकास भेट्नका लागि हम्मेहम्मे पर्यो । हैरान बनेको समितिले झन्डै हात झिकेन । तर, मेयर बालेनको हौसलाले उनीहरूलाई पछाडि हट्न दिएन । ‘हाम्रो टार्गेट पानीको निकास खोज्नु थियो । काम गर्दै जाँदा धेरै समय कोसिस गर्न पर्यो । त्यसैले, हरेस खाने अवस्थामै पुग्न लागिसकेका थियौँ,’ उनले भने, ‘तर मेयरसापले हौसला दिनुभयो । गरेपछि किन हुँदैन भन्नुभयो । त्यसपछि केटाहरूले यति जोस, जाँगर देखाए कि मंगलभित्रै पसेर काम गरे । त्यसपछि निकासको काम पनि सम्भव भयो ।’
हिटी पुन:निर्माणका लागि पुरानै शैली अपनाइएको छ । भक्तपुरबाट ल्याएर दाचिअप्पा (इँटा) प्रयोग गरिएको छ । ‘हामीले पुरानै शैलीमा बनाउने कोसिस गरेका छौँ । जमिनमुनि पानी आउने ठाउँमा चुना, सुर्कीको जोडाई बन्न लामो समय लाग्ने भएकाले सिमेन्ट प्रयोग भएको छ,’ उनले भने ।
हिटीमा गोसाइँकुण्डको पानी
नक्साल सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष मनोज ताम्राकारका अनुसार यो हिटी धेरै लामो समय पोखरीका रूपमा थियो । उनले सानै छँदादेखि यहाँ पोखरी नै देखेको बताए । कुनै सयम पानीको महत्वपूर्ण स्रोत मानिने हिटीको प्रयोगमा कमी हुँदै आएपछि बिस्तारै पोखरीमा परिणत भयो । स्थानीयले स्वस्फूर्त त्यहाँ जमेको पानी निकालेर फाले पनि सधैँ अवस्था एकै रहेन । जसका कारण ०५४ सालतिरै पोखरीमा रूपान्तरण भएको हिटीमा डुबेर एकजनाको निधन भयो । चल्दै, बन्द हुँदै गरेको हिटी अन्ततः ०५५ सालमा सधैँका लागि बन्द भयो । यसपटक भने महानगरको पहलमा फेरि सञ्चालनमा आएको छ । केही स्थानीयले हिटीको पानी पिउनसमेत थालेका छन् । स्थानीयलाई यहाँको पानीमा पूर्ण विश्वास दिलाउन पानी परीक्षणसमेत गरिने भएको छ । ‘हामीले पनि यहाँ काम गर्ने क्रममा पानी खाएका थियौँ । खाइरहेका छौँ । सुनेअनुसार यो गोसाइँकुण्डको पानी हो । त्यहाँदेखि कसरी पानी ल्याए ? साँच्चै हो वा होइन ? प्रमाणित हुन बाँकी छ,’ उनले भने, ‘सर्वसाधारणलाई विश्वस्त बनाउन एकपटक पानी परीक्षण गर्न महागरलाई भनेका छौँ । गोसाइँकुण्ड वा कहाँको पानी हो, त्यो विषयमा पनि अध्ययन होला ।’
निर्माण सम्पन्न भए पनि हिटी हस्तान्तरण हुन भने बाँकी छ । अन्तिम भुक्तानी भएपछि महानगरलाई हस्तान्तरण गर्ने योजना समितिको छ । उनीहरूले हस्तान्तरण गर्ने योजना बनाए पनि महानगरले भने स्थानीयलाई हस्तान्तरण गरेर व्यवस्थापनको जिम्मा दिने योजना बनाएको छ । विभागीय प्रमुख राईका अनुसार उपभोक्ता समिति, वडाले हेरचाह गर्ने, मर्मतका लागि आवश्यक परे महानगरसँग समन्वय गर्ने गरी काम गर्छाैं । महानगरले आफ्नो क्षेत्रको सम्पदा हेर्न जिम्मा दिए पछि नहट्ने ताम्राकारले बताए । ‘उहाँहरूकै पहलमा बनायौँ । हस्तान्तरण हुन बाँकी छ । अब तपाईंहरूले नै व्यवस्थापन गरिदिनुपर्यो भने गर्छौं । यो स्थानीयको कर्तव्य पनि हो,’ उनले भने, ‘यो हिटी देशकै सम्पत्ति हो । हाम्रो टोलमा भएकाले अलि बढी जिम्मेवार त हुन्छौँ नै । यही हिटीहरूजस्तै सम्पदाले नै हामीलाई चिनाउने हो ।’
एक वर्षमा निर्मााण सम्पन्न गर्ने गरी असार ०८१ मा हिटीको निर्माण सुरु भएको थियो । हिटी निर्माणका लागि महानगरले समितिलाई ६९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यो हिटीजस्तै महानगरले हाल ४० वटा हिटी विभिन्न ठाउँमा पुन:निर्माणण गरिरहेको छ ।