१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार o९:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o९:३८:oo

लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू चार सय ८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू चार सय ६५ र मझौला रू चार सय ३५ तोकिएको छ ।
 
यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उनले भने, ‘बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।’
 
पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताए। गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उनी बताउँछन् । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन्। पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनी बताउँछन् । 
 
अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ। नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन्। ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए।