Skip This
पहिलोपटक दुई साताअघि नै भित्रियो मनसुन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १७ शनिबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहिलोपटक दुई साताअघि नै भित्रियो मनसुन

पूर्वी नेपालमा मनसुनी वर्षा सुरु, चाँडै देशभर विस्तार हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o६:o३:oo
  • अहिले ठुलो झरी पार्नेभन्दा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ : मीनकुमार अर्याल वरिष्ठ मौसमविद्

जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयताको ५७ वर्षमा पहिलोपटक सरदरभन्दा दुई साताअघि नै नेपालमा मनसुन भित्रिएको छ । कोशी प्रदेशमा बिहीबार रातिबाट मनसुनी वर्षा पनि सुरु भइसकेको छ भने एक साताभित्र देशभर विस्तार हुने आकलन मौसमविद्ले गरेका छन् । 

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि १५ दिन छिटो बिहीबार राति प्रवेश गरेको हो । विभागले सन् १९६८ देखि नेपालमा मनसुन आगमन र बहिर्गमनको रेकर्ड राख्न थालेको हो । यसअघि छिटो मनसुन भित्रिएको ३१ मे १९९६ मा हो, तर यसपटक अझ चाँडो भित्रिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले यसपालि सरदरभन्दा एक साताअघि नै मनसुन उत्पत्ति भएको र सामुद्रिकलगायत मौसमी प्रणाली अनुकूल बन्दा नेपालमा पनि चाँडै प्रवेश गरेको बताए । ‘बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीले पनि साथ दियो । चाँडै आउनुमा एउटा मात्र कारण छैन,’ उनले भने । अर्यालका अनुसार पूर्वी नेपालमा मनसुनी वर्षा सुरु भए पनि यो प्रणाली धेरै शक्तिशाली भने छैन । ‘अहिले ठुलो झरी पार्नेभन्दा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ उनले भने ।

मध्य र पश्चिम नेपालमा पश्चिमीसँगै स्थानीय वायु कायमै
पूर्वी नेपालमा मनसुनी वायु प्रवेश गरे पनि मध्य र पश्चिम नेपालमा भने पश्चिमीसँगै स्थानीय वायु सक्रिय नै छन् । मनसुनी वायु दक्षिण–पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ । ‘मनसुन देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ, तर अहिले मध्य र पश्चिम नेपालमा पश्चिमी वायुका कारण पानी परिरहेको छ,’ वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने । पश्चिमी वायु कमजोर बन्दै गएमा मनसुनले विस्थापन गर्नेछ । सामान्यतया पूर्वी नेपालमा मनसुन प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ । तर, पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भनिसकेको छैन । दक्षिण एसियाली मनसुन नेपालमा चार महिना रहन्छ । 

यसपालिको मनसुनमा देशभर सरदरभन्दा बढी वर्षा हुने र त्यसमा पनि लुम्बिनी, गण्डकी र कर्णालीमा अझ धेरै वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ । विपत् व्यवस्थापन प्राधिकरणले पनि बाढीपहिरोलगायत विपत्बाट २० लाख नागरिक प्रभावित हुन सक्ने र एक लाख प्रत्यक्ष प्रभावित हुने आकलन गरिसकेको छ । प्रिमनसुनमा औसत वर्षाको ११३.८ प्रतिशत अर्थात् २६०.६० मिलिमिटर वर्षा भएको छ । यामअनुसार १७ जेठसम्म प्रिमनसुन रहन्छ ।