Skip This
सुक्खा फोहाेर बिक्री गर्न वार्षिक ६ करोड आठ लाख रुपैयाँमा आय ठेक्का
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format १o:५६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा फोहाेर बिक्री गर्न वार्षिक ६ करोड आठ लाख रुपैयाँमा आय ठेक्का

१० वटा वडाबाट एक महिनामा एक लाख एक हजार तीन सय ५५ किलोग्राम सुख्खा फोहाेर संकलन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

काठमाडौं महानगरपालिकाले घरेलु सुक्खा फोहाेरसँगै उत्पादन हुने सुक्खा फोहाेर बिक्री गर्न करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए। अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । 

क्षेत्र नम्बर ७ बाट ०८२ वैशाख महिनाभरिमा एक लाख एक हजार ३५५ किलोग्राम सुक्खा फोहाेर संकलन भयो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् । सुक्खा फोहाेर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । वैशाख महिनाको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन तीन हजार आठ सय २७ किलोग्राम र सबैभन्दा कम भएका दिन दुई  हजार ५३४ किलोग्राम फोहाेर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ मेट्रिक टन सुक्खा फोहाेर संकलन हुने अनुमान गरिएको छ । 

चैत महिनामा ११ गतेदेखि फोहाेर संकलन थालिएको थियो । त्यस दिन एक हजार ३७७ किलाेग्राम फोहाेर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी चार हजार पाँच सय किलोग्राम संकलन भएको थियो । यस महिनामा ६० हजार ६६० किलोग्राम फोहाेर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ । 

घरेलु फोहाेरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एक–एकवटा फोहाेरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहाेर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरपालिकाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रूपमा ६६ लाख ४२ हजार एक सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन  फोहाेर संकलन हुने अनुमान गरिएको छ । 

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा.लि.ले वार्षिक ५१ लाख ५९ हजार रुपैयाँमा ठेक्का कबाेल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहाेर संकलन हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहाेर जम्मा हुने अनुमान छ ।  

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रिजले एक करोड १५ लाख चार हजार चार सय रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहाेर जम्मा हुने अनुमान छ । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ। करिब ४९ मेट्रिक टन सुक्खा फोहाेर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कबाेल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहाेर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ। इन्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम करबाहेकको हो।