
खोटाङको रावाबेँसी गाउँपालिका– १ कुभिन्डेस्थित दम्कुमा चन्दा उठाएर सामुदायिक विद्यालयलाई आवासीय बनाइएको छ । ८० घरपरिवारको बसोबास रहेको दम्कुमा कालिका आधारभूत विद्यालय छ । गाउँपालिकाबाट यसै वर्ष कक्षा आठसम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा ६२ विद्यार्थी छन् ।
विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान सुरु गरेको छोटो समयमै नौ लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक संकलन समितिका संयोजक विशाल राईले बताए । उनका अनुसार आवासीय भएर अध्ययन गर्न १४ छात्र र २० छात्रा भर्ना भएका छन् । कक्षा दुईभन्दा माथिका विद्यार्थीलाई पूर्ण आवासीय रूपमा अध्यापन गराउने लक्ष्य राखिएको भए पनि साना बालबालिकालाई अनिवार्य गरिएको छैन ।
विद्यार्थी घट्दै गएका वेला आवासीय बनाएपछि यस वर्ष मात्रै २२ जना नयाँ विद्यार्थी थपिएका प्रधानाध्यापक टीकाराम राईले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । यसलाई रोक्न विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ,’ उनले भने । छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको आवासीय विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ । आवासका लागि आवश्यक पर्ने फर्निचर, भान्साको सामग्री तथा रासन विद्यालय प्रशासन आफैँले व्यवस्था गर्छ ।