
बाँकेमा चक्ला वन कार्यक्रम सफल हुँदै गएको छ । वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत बाँकेमा देशकै ठुलो ‘चक्ला वन’ बनाइएको छ । माथेवास–शमशेरगन्ज चक्ला वन दुई हजार पाँच सय ८० हेक्टरमा फैलिएको छ ।
निश्चित मापदण्डमा रहेर उमेर पुगेका रुख कटान गर्ने र नयाँ रुख हुर्कनका लागि उपयुक्त वातावरण निर्माण गर्न वैज्ञानिक विधि अपनाएर चक्ला वन स्थापना गरिएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले बताए । ‘चक्ला वनमा सालका नयाँ रुखलाई हुर्कन सहयोग गर्ने उद्देश्यले बुढा, पुराना र काम नलाग्ने रुख विस्थापित गरिँदै छ,’ उनले भने, ‘वन व्यवस्थापन नहुँदा बाँकेको सालको जंगल कुकाठमा परिणत हुने अवस्था छ ।’
आर्थिक वर्ष ०७३/७४ बाट बाँकेमा चक्ला वन कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए । नयाँ बिरुवालाई आवश्यकताअनुसार संख्या, गुणस्तर र प्रजाति सम्मिश्रण गरी हुर्कन मद्दत गर्ने गरिएको उनले बताए । बाँकेमा बनाइएको चक्ला वनलाई विभिन्न सात उपखण्डमा विभाजन गरिएको छ । प्रत्येक उपखण्डलाई आठ–आठ पुनः उत्पादन खण्डमा विभाजन गरी काम भइरहेको उनको भनाइ छ । ‘विविध कारणवश कार्यक्रम लागू भएको तीन वर्षसम्म कटान र संवर्द्धनको काम हुन सकेन,’ उनले भने ।
कुल ५६ वटा पुनः उत्पादन खण्डमा १०–१० वर्ष गरी ८० वर्षभित्र पुराना र काम नलाग्ने बुट्यान फँडानी गरिने गुप्ताले बताए । ‘३० सेन्टिमिटरमाथिका रुख कटान गरी सालका रुखलाई हुर्कने वातावरण बनाइँदै छ,’ उनले भने, ‘हरेक खण्डमा रहेका काम नलाग्ने रुखलाई वार्षिक रूपमा पालैपालो हटाउने र नयाँ रुखलाई हुर्काउन आवश्यक व्यवस्थापन गरिएको छ ।’
उनले सातवटै उपखण्डमा काम भइरहेको बताए । काम भएको क्षेत्रमा नयाँ पुस्ताका रुख राम्रोसँग हुर्किरहेको उनको भनाइ छ । ‘जुन ठाउँमा काम भएको छ त्यहाँ नयाँ पुस्ताका रुख राम्रोसँग हुर्किरहेका छन्,’ गुप्ताले भने, ‘बुट्यान, झाडी र बुढापुराना रुखले नयाँ पुस्ताका रुखलाई हुर्कन दिँदैनन् । चक्ला वनको उद्देश्य नयाँ पुस्ताका रुखलाई हुर्किन मद्दत गर्ने हो ।’ उनले चक्ला वन कार्यक्रमले देशलाई काठमा आत्मनिर्भर बनाउने जिकिर गरे । ‘यसले विदेशबाट काठ ल्याउने कार्यलाई रोक्नेछ,’ उनले भने ।
माथेवास–शमशेरगन्ज चक्ला वनले रोजगारीसँगै राजस्व वृद्धि गरेको उनले बताए । प्रत्येक वर्ष तीन सय ६० जनालाई रोजगारी दिएको बताउँदै उनले गत आर्थिक वर्ष ६ करोड रुपैयाँ राजस्व संकलन भएको बताए । ‘राजस्व र रोजगारीसँगै काम नलाग्ने काठ, दाउरा पनि सदुपयोग भएको छ,’ उनले भने, ‘हरेक वर्ष राजस्वसँगै रोजगारीको संख्या पनि बढ्दै जानेछ ।’
उनले आव ०८२/८३ मा ५६ करोड चार लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको बताए । माथेवास–शमशेरगन्ज चक्ला वनपछि डिभिजन वन कार्यालय बाँकेले सिक्टा चक्ला वन कार्यक्रम लागू गर्न लागेको छ । राप्तीसोनारी गाउँपालिका १ र ४ नम्बर वडामा पर्ने वनलाई चक्ला वनको रूपमा विकास गर्न लागेको सिनियर डिभिजन वन प्रमुख गुप्ताले बताए । सो वन दुई हजार दुई सय हेक्टरको हुने उनले बताए । ‘आगामी आर्थिक वर्षबाट उक्त क्षेत्रमा चक्ला वन कार्यक्रम लागू गर्ने अन्तिम तयारी छ,’ उनले भने । चक्ला वनलाई सुरक्षित बनाउन हरेक खण्डलाई छुट्याउने गरी अग्निरेखा निर्माण गरिएका छन् भने १७ जना अग्नि नियन्त्रकको समेत व्यवस्था गरिएको छ ।