
एउटै समूहले डिजिटल वालेट दुरुपयोग गरेर बैंकिङ प्रणालीमार्फत दुई वर्षमै ३१ अर्ब रुपैयाँबराबरको हुन्डीको कारोबार गरेको खुलेको छ । गिरोहका ३० जना पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
डिजिटल वालेट दुरुपयोग गरी देशभर नै बैंकिङ प्रणालीमार्फत हुन्डीको कारोबार भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । यसमा संलग्न नवलपरासीदेखि झापासम्मका मनी ट्रान्सफर, ट्राभल तथा अन्य कम्पनीका सञ्चालकलाई सिआइबीले पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐनका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनअनुसार पनि अनुसन्धान थालेको हो ।
‘हालसम्म पक्राउ परेकाले ३१ अर्ब रुपैयाँबराबरको हुन्डीको कारोबार गरेको देखिन्छ,’ सिआइबी निर्देशक एआइजी चन्द्रकुवेर खापुङले भने, ‘सुन तस्करी तथा क्रिप्टो कारोबारको अवैध पैसालाई उनीहरूले बैंकिङ च्यानलमार्फत हुन्डीको भुक्तानीमा प्रयोग गरेको देखियो, सम्पत्ति शुद्धीकरणको कसुरसमेत जोडेर विस्तृत अनुसन्धान अघि बढेको छ ।’
डिजिटल वालेट कम्पनी सजिलो पे र पे–वेल नेपालको मिलेमतोमा यसरी बैंकिङ च्यानलमार्फत नै हुन्डीको सञ्जाल बनाइएको हो । ती दुई कम्पनीको कारोबारको विस्तृत विवरण खोतलेर सिआइबीले सञ्जालमा आबद्ध व्यक्तिहरूलाई पक्राउ गरेको हो । ‘यसको अनुसन्धानका लागि बिशेष टोली नै बनाएका थियौँ,’ सिआइबीका एसएसपी होविन्द्र बोगटी भन्छन्, ‘करिब चार–पाँच महिना लगाएर गरेको अनुसन्धानपछि अहिले ३० जना पक्राउ गरेका हौँ ।’
सिआइबीले सजिलो पे र पे–वेल नेपाल कम्पनीका सञ्चालकलाई गत वर्ष नै पक्राउ गरी मुद्दा चलाएको थियो । ती कम्पनीलाई हाल राष्ट्र बैंकले कारोबारमा प्रतिबन्ध लगाएको छ । एसएसपी बोगटीका अनुसार कतिपय भारतीय नागरिकले समेत हुन्डीको कारोबारमा यो सञ्जाललाई प्रयोग गरिएको खुलेको छ । ‘यस्तै अवैध कारोबारले हालै देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पनि परेको छ,’ बोगटीले भने, ‘जसकारण सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विस्तृत छानबिन थालेका छौँ ।’
गत महिना सिआइबीले २१ जनालाई पक्राउ गरेकोमा हालै थप नौजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये मोरङका दीपेन्द्रप्रसाद साह र वीरेन्द्र्रप्रसाद साहले मात्र दुई अर्ब ८२ करोड १९ लाखबराबरको अवैध कारोबार गरेको सिआइबीले जनाएको छ । उनीहरूले डिएस ट्रेडर्स एन्ड रेमिट्यान्स कम्पनीको आडमा हुन्डी कारोबार गरेका हुन् ।
महोत्तरीका श्रवणकुमार साहले दीपज्योति ट्रेडर्स कम्पनीमार्फत एक अर्ब ५१ करोड २० लाख, सप्तरीका तारालाल यादवले रिया ट्रेडर्समार्फत एक अर्ब ३९ करोड ५५ लाख, सर्लाहीका हरेराम महतोले आनन्द ट्रेडर्समार्फत एक अर्ब दुई करोड ६३ लाखको हुन्डी कारोबार गरेका छन् । पर्साका प्रदीपकुमार साहले आर एन्ड ए सबरेमिटमार्फत एक अर्ब एक करोडको कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।
झापास्थित द गिफ्टेरिया सञ्चालन गर्ने निकेश अग्रवाल, सुमन खनाल, अंकित अग्रवाल, अनुज मारू, कविस मारूको कम्पनीले पाँच अर्बभन्दा धैरै कारोबार गरेको भेटिएको छ । झापाकै सुनील राईको डिएस ट्रेडर्समार्फत पनि हुन्डीको कारोबार भएको पुष्टि भएको छ ।
न्यु सन्देश इन्टरप्राइजेजका निरोजकुमार महतो, अलिता मनी ट्रान्सफरका अलितादेवी महतो र प्रकाश सिंह, श्री अञ्जल इन्टरप्राइजेजका अरुणकुमार साह र जय मा मनी ट्रान्सफरका सञ्जीवकुमार महतो, नवलपरासीका राजकुमार लोनिया, भीमकुमारी गुरुङ र गणपति पाण्डे पनि पक्राउ परेका छन् । सप्तरीका रामबिला साह, ममताकुमारी साह, सुशीलाकुमारी साहू र शम्भु मेहता तथा पर्साका विकर्णजंग राणासमेत सिआइबी हिरासतमा छन् । त्यस्तै, सुनको कारोबारमा जोडिएका न्युरोडका विकास श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ र श्रीकान्त विभूतिलाई पनि सिआइबीले हालै पक्राउ गरेको छ ।
सिआइबी निर्देशक चन्द्रकुवेर खापुङ भन्छन्–सुन तस्करी र क्रिप्टो कारोबारको अवैध पैसा हुन्डी भुक्तानीमा प्रयोग गरेको देखियो
यो प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन् । उनीहरूले ३१ अर्ब रुपैयाँबराबरको हुन्डीको कारोबार गरेको देखिन्छ । सुन तस्करी तथा क्रिप्टो कारोबारको अवैध पैसालाई उनीहरूले बैंकिङ च्यानलमार्फत हुन्डीको भुक्तानीमा प्रयोग गरेको देखियो । सम्पत्ति शुद्धीकरणको कसुरसमेत जोडेर विस्तृत अनुसन्धान अघि बढेको छ ।
महोत्तरीका श्रवणकुमार साहले दीपज्योति ट्रेडर्समार्फतएक अर्ब ५१ करोड २० लाख, सप्तरीका तारालाल यादवले रिया ट्रेडर्समार्फत एक अर्ब ३९ करोड ५५ लाख, मोरङका दीपेन्द्रप्रसाद साह र वीरेन्द्रप्रसाद साहले डिएस ट्रेडर्स एन्ड रेमिट्यान्स कम्पनीको आडमा दुई अर्ब ८२ करोड १९ लाख, सर्लाहीका हरेराम महतोबाट एक अर्ब दुई करोड ६३ लाख र पर्साका प्रदीपकुमार साहले आर एन्ड ए सबरेमिटमार्फत एक अर्ब एक करोडबराबरको अवैध कारोबार गरेको सिआइबीले जनाएको छ । त्यस्तै, झापास्थित द गिफ्टेरिया सञ्चालन गर्ने निकेश अग्रवाल, सुमन खनाल, अंकित अग्रवाल, अनुज मारू, कविस मारूको कम्पनीले पाँच अर्बभन्दा धैरै कारोबार गरेको भेटिएको छ ।
झापाका सुनील राईको डिएस ट्रेडर्समार्फत पनि हुन्डीको कारोबार भएको पुष्टि भएको छ । धनुषाका न्यु सन्देश इन्टरप्राइजेज धनुषाका निरोजकुमार महतो, अलिता मनी ट्रान्सफरका अलितादेवी महतो र प्रकाश सिंह, श्री अञ्जल इन्टरप्राइजेजका अरुणकुमार साह र जय मा मनी ट्रान्सफरका सञ्जीवकुमार महतो, नवलपरासीका राजकुमार लोनिया, भीमकुमारी गुरुङ र गणपति पाण्डे पनि पक्राउ परेका छन् । सप्तरीका रामविलास साह, ममताकुमारी साह, सुशीलाकुमारी साहु र शम्भु मेहता, चितवनका गोविन्दप्रसाद आचार्य तथा पर्साकी सलमा खातुन र विकर्णजंग राणासमेत सिआइबी हिरासतमा छन् । त्यस्तै, सुनको कारोबारमा जोडिएका न्युरोडका विकास श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ र श्रीकान्त विभूतिलाई पनि सिआइबीले हालै पक्राउ गरेको छ । यो गिरोहमा आबद्ध केही व्यक्तिहरू खोजी जारी रहेको सिआइबीले जनाएको छ ।
सुन तस्करीको अनुसन्धान गर्दा हुन्डीको पनि पोल खुल्यो
गत वर्ष सुन तस्करी घटनाको अनुसन्धानका क्रममा डिजिटल वालेटमार्फत भइरहेको हुन्डीको कारोबार पत्ता लागेको थियो । ती कम्पनीले एक खर्बबराबरको हुन्डीको कारोबार भएको र त्यसका एजेन्टमाथि विस्तृतमा खोजी भइरहेको सिआइबी स्रोत बताउँछ । हुन्डीको पैसा सुरुमा डिजिटल वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्ने र डिजिटल वालेटको कारोबार मिलाउन भनेर त्यही पैसा हुन्डीको भुक्तानी लिनेको खातामा पठाउने गरिन्थ्यो । यसरी हुन्डीको भुक्तानी लिनेलाई पनि सिआइबीले अनुसन्धानको दायरामा ल्याएको छ । सिआइबीले पे–वेल नेपालका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, प्रमुख कार्यकारी प्रज्वल आचार्य तथा सजिलो पेका सञ्चालक सुनील जाकिबन्जा तथा कार्यकारी प्रमुख कश्यप मानन्धरलाई पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले उनीहरूलाई थुनामा पठाएकोमा उच्चबाट धरौटीमा छुटेका छन् । उनीहरूमाथि अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि थप अनुसन्धान हुने भएको छ ।