
काठमाडौं महानगरपालिकाले ऐतिहासिक लु:हिती ब्युँताउन थालेको छ । लु:हितिलाई कोहितिमा आउने पानीको स्रोतसँग जोडेर पुनरुत्थान थालिएको हो । बिहीबार महानगर उपप्रमुख सुनिता डंगोलले पुनर्निर्माणको अनुगमन गरिन् । काठमाडौं– २० भीमसेनस्थानमा रहेको लु:हितिको अवस्था र तबो भिन्द्या त्वाः गुथि निर्माण कार्यको निरन्तर अनुगमन गरिने उनले बताइन् ।
लु:हितिमा करिब ०४२ देखि पानी आउन छोडेको स्थानीयको भनाइ छ । ‘महानगरका संस्कृति, सम्पदा र स्थानीय रहनसहनका अभिन्न यी अंग छुटेपछि सहरबाट हराउँदै गएको जीवन्त रसलाई पुनरुत्थान गरिरहेका हौँ,’ डंगोलले भनिन्, ‘लु:हितिलाई कोहितिसँग पानीको स्रोतमा जोडेर गरिने पुनरुत्थानले ४० वर्षअघि गुमेको हितिको अस्तित्व फर्किनेछ ।’
सहरी संरचना निर्माण गर्दा महानगरपालिकाले पर्यावरणीय चक्र (इकोलोजिकल)को अवस्था नवीकरण र सामाजिक, सांस्कृतिक पक्षको सम्बन्ध जोगाउँदै जाने उनको भनाइ छ । यसको पुनरुत्थानको काम पनि सुरु भएको छ । महानगर गौरव योजना ‘सबैको चाहना, ढुंगेधारा हिति र पोखरी पुनर्स्थापना’अन्तर्गत हितिभित्र जमेको पानीलाई निकासा दिन १२ इन्चको पाइपबाट १२७ मिटर लामो निकास प्रणाली निर्माण गरिसकिएको छ । परोपकार अनाथालयतर्फबाट बनाइएको यो प्रणालीमा निकास जोडेपछि हितिमा जमेको पानी बाहिर निकाल्न सकिन्छ ।
हिति पुनरुत्थानका लागि करिब आधा किलोमिटर दूरीमा रहेको कोहितिमा आउने पानीको स्रोतसँग ५० मिलिमिटरको पाइप जोडिनेछ । यसपछि हितिभित्रका संरचना र सुन्दरता पुनस्थापनाको काम हुनेछ । यी सबै काम करिब ७५ लाख रुपैयाँमा पुरातात्विक हिति संरक्षण उपभोक्ता समितिले सम्पन्न गर्ने गरी सम्झौता भएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । आगामी ३० मंसिरमा काम सम्पन्न हुनुपर्नेछ । यसका लागि सम्पदा तथा पर्यटन विभाग र उपभोक्ता समितिबिच गत २५ माघमा सम्झौता भएको छ ।
लु:हिति १६औँ शताब्दीमा निर्माण भएको संरचना हो । ३४.९ फिट लम्बाइ र ३२ फिट चौडाइ भएको हितिको पूर्वमा गोरेटो बाटो, पश्चिममा परोपकार अनाथालय, उत्तरमा भवनहरू र दक्षिणमा विष्णुमतीतर्फ जाने पक्की सडक छ । हितिबाट पानीको निकास नभएकाले अहिले यो हितिजस्तो नभई आधा पानी भएको पोखरीजस्तो देखिएको छ । पानीमा कमलका पात फक्रिएका छन् । वरिपरि झार र आफैँ पलाएका रैथाने फूल फुलेका छन् । यसको मौलिक स्वरूप फर्काउन महानगरपालिकाले काम थालेको हो ।