Skip This
विदेश पठाउनुपर्ने नमुना अब कोशी जनस्वास्थ्य प्रयोगशालाबाटै परीक्षण  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:४७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाउनुपर्ने नमुना अब कोशी जनस्वास्थ्य प्रयोगशालाबाटै परीक्षण  

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

स्वास्थ्य परीक्षणलाई सर्वसुलभ, सस्तो र विश्वासिलो बनाउँदै लगेको  कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अब विदेश पठाउनुपर्ने महँगा नमुनाहरू स्वदेशमै परीक्षण गराउने भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंसँग  नमुना प्रेषण तथा परीक्षणका लागि सहमति भएपछि अब कोशी जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरिबाट प्राप्त हुने विदेश पठाउनुपर्ने स्वास्थ्य नमुनाहरू स्वदेशमै सस्तो खर्चमा परीक्षण गराउने भएको हो ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी, विराटनगरबिच उपलब्ध नभएका सेवाहरू नागरिकहरूलाई सर्वसुलभ उपलब्ध गराउनेबारे मंगलबार  सहमति भएको छ। सहमतिअनुसार अब कोशी जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरिबाट प्राप्त भएका विदेशमा पठाउनुपर्ने नमुनाहरू कुरियर सेवामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रेषण गरेर परीक्षण गराउनेछ। यो सेवाबाट अब कोशी प्रदेशका बिरामीहरूलाई महँगाे खर्च गरेर विदेशमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने र अस्पताल र प्रयोगशालाहरूलाई नमुना विदेश पठाउनुपर्ने बाध्यता पनि अन्त भएको छ।  

प्रयोगशालाका निमित्त निर्देशक चन्द्रप्रकाश कार्कीका अनुसार सहमतिसँगै  अब स्थानीय तहदेखि प्रादेशिक तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबिच कुरियर सेवामार्फत प्रयोगशालाहरूको सञ्जालीकरण एकीकृत भएको छ। यसले प्रयोगशाला क्षेत्रमा तीनै तहका सरकारहरूबिच समन्वय र सहकार्य थप सुदृढ बनाएको  छ। निमित्त निर्देशक चन्द्रप्रकाशले  भने, ‘यसले रोग निदानका लागि नमुना विदेश पठाउनुपर्ने अवस्था अन्त भएको छ भने  अन्यत्र रिफर गर्नुपर्ने आवश्यकता घटाउन पनि सहयोग पुर्‍याउनेछ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोशी प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रादेशिक अस्पतालहरू तथा केही स्थानीय तहका नगर अस्पतालहरूसँग नमुना प्रेषण तथा परीक्षणका लागि सम्झौता गरिसकेको छ। तर, आफ्नो प्रयोगशालामा परीक्षण हुन नसक्ने नमुनाहरू भने महँगो शुल्क तिरेर विदेशमा पठाउनुपर्ने बाध्यता थियो।  नयाँ भवन निर्माण गरेर अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरेपछि कोशी जनस्वास्थ्य प्रयोशालाले सस्तो र सर्वसुलभ रूपमा विभिन्न स्वास्थ्य नमुना परीक्षण गर्दै आएको छ । दुई वर्षभित्रै सेवाग्राहीमा विश्वास जितेर नमुना बन्न सफल भएको कोशी जनस्वास्थ्य प्रयोगशाला अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा रहेको छ । 

कोशी जनस्वास्थ्य प्रयोगशालाका प्रशासन शाखा प्रमुख रेवती ढुंगानाका अनुसार कोशी प्रदेश प्रयोगशालाले सबैलाई डेँगु, मलेरिया, कालाजार, एचआइभी, टिभीलगायत १० प्रकारका संक्रामक रोगहरूको निःशुल्क परीक्षण गरिदिने गरेको छ । हाल यो प्रयोगशालामा ज्येष्ठ नागरिक र मिर्गौलापीडितहरूलाई निःशुल्क स्वाास्थ्य परीक्षण गरिन्छ भने सीमान्तकृत, अपांग, द्वन्द्वपीडित, कर्मचारी, विद्यार्थीलगायतलाई पचास प्रतिशत छुट सुविधा प्रदान गर्दै आएको छ। छोटो समयमा विनाप्रचारप्रसार भरपर्दो बन्दै गएको कोशी प्रयोगशालामा निजी ल्याब र ठुला अस्पतालहरूले समेत नमुना परीक्षण गर्न पठाउने गरेका छन्। 

यो प्रयोगशालाले सर्वसाधारण बिरामीहरूलाई निजी क्षेत्रका अस्पताल र प्रयोगशालाहरूले भन्दा ६० प्रतिशत कम शुल्क लिएर विभिन्न प्रकारका स्वास्थ्य जाँच गरेर तुरुन्तै प्रतिवेदन उपलब्ध गराउने गर्दछ। निजीमा चार हजार पर्ने बायप्सी परीक्षण मात्र तीन सयमा, बाहिर दुई हजारभन्दा बढी पर्ने थाइराइड जाँच मात्र ६ सय र रगतको जाँच मात्र ५० रुपैयाँमा गरिदिने गरेको छ। कोशी प्रयोगशालामा  चालू वर्षको चैतसम्म १५ हजारजनाले विभिन्न रोगहरूबारे स्वास्थ्य परीक्षण गराइसकेका छन् । यो प्रयोगशालाबाट  चालू वर्ष  तीन हजारजनाको टिभी रोगको मात्र जाँच भइसकेको  छ।  

यो प्रयोगशालामा  रगत, मिर्गौला, कलेजो, मुटु, थाइराइड, क्यान्सर, पाठेघरको मुख, सुगर, भिटामिनदेखि इन्फेक्सनसँग जोडिएका सबैखाले परीक्षणहरू हुँदै आएका छन्। होलबडी स्वास्थ्य परीक्षण पनि निजीमा भन्दा अति नै न्यून शुल्कमा गरिदिने गरेको छ। यो प्रयोगशालामा इन्डाेक्रिनोलोजी, माइक्रोबायोलोजी, पारासाइटोलोजी, भिरोलोजी, मोलिक्युलर, हेमाटोलोजी, बायोकेमेस्ट्री, सेरोलोजी हिस्टोसाइटो प्याथोलोजीअन्तर्गत सयौँ प्रकारका स्वास्थ्य परीक्षणहरू अति नै न्यून शुल्कमा छिटो र भरपर्दो रूपले गर्ने गरेको छ ।

साथै कोशी स्वास्थ्य प्रयोगशालाले जाँचका लागि सेम्पल प्राप्त गरिसकेपछि द्रुत गतिमा अत्याधुनिक मेसिनबाट परीक्षण गरेर क्युआर कोडमार्फत सोझै मोबाइलमा प्रतिवेदन बिरामीलाई पठाइदिने गरेको छ । जसबाट बिरामीहरू स्वास्थ्य जाँच परीक्षणको प्रतिवेदन लिन घण्टौँ कुनुपर्ने र प्रयोगशालामै आइरहनुपर्ने बाध्यता हुँदैन।