१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका ताप्लेजुङ
Invalid date format १४:४o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल, पर्यटकको रोजाइमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ ।

हालै मात्र पाँचजना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजंघा हिमाल आरोहण गरेका छन् । उनीहरूले सेभेन समिट ट्रेक्समार्फत आरोहण सम्पन्न गरेका हुन् । सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसो भोका नागरिक र नेपाली शेर्पा समावेश छन् । इलाइट एक्सपिडिसन काठमाडौंका निर्देशक मिंमा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजंघा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन् ।

कञ्चनजंघा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकको आकर्षण बढ्दो छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्यान्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन् ।

कञ्चनजंघा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ । घुन्सा पर्यटन चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म ३६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन् । यसरी कञ्चनजंघा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । तर, आन्तरिक पर्यटकको विस्तृत तथ्यांक भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन । कञ्चनजंघा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन् ।

उत्तरी आधार शिविर (ओक्ताङ)
उत्तरी मार्गबाट कञ्चनजंघा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ । घुन्सा गाउँबाट थप तीन दिन पैदल यात्रा गरेपछि पाँच हजार दुई सय मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजंघा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटेल, होमस्टे, पर्यटक विश्राम स्थल सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ ।

दक्षिण आधार शिविर (पाङपेमा)
दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङलिङ बजारबाट सवारीसाधनमार्फत झन्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ । त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार आठ सय मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजंघाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ ।

हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ । कञ्चनजंघा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये एकदमै कठिन मानिन्छ । बदलिँदो मौसम, पातलो अक्सिजन, हिम पहिरोको जोखिमलगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् । त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्चस्तरको तयारी आवश्यक पर्ने बताइन्छ । गत साता मात्र हिमाल आरोहण  क्रममा एक फ्रान्सका नागरिकको मृत्युसमेत भयो । 

नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजंघा हिमाल नेपालको गौरव मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ । यस क्षेत्रमा सञ्चार र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजंघा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा संकेत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपतकालीन उद्धार सेवा विस्तार भएमा अझ पर्यटक भ्रमण गर्न आउने छन् । 

कञ्चनजंघा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, पथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् । रासस