१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२३:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

लेखक मोहन मैनालीलाई मन परेका पुस्तक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२३:oo

लेख्ने मेरो एक किसिमको पेसा नै हो । त्यसैले अरूले के लेखे भन्ने थाहा पाउन पनि पढ्छु । एक साक्षर व्यक्ति भएकाले पनि पढ्नैपर्‍यो । किनभने, पुस्तकमा जुन ज्ञान, सूचना हुन्छ, त्यसबाट फाइदा लिनका लागि पढ्ने गरेको छु । पुस्तकले मलाई अरूका अनुभव, विचार सजिलैसँग बुझ्न सहयोग गर्छ । साथै जीवन र जगत्लाई बुझ्नसमेत सहयोग गर्छ । 

घामका पाइलाहरू : धनुषचन्द्र (धच) गोतामेद्वारा लिखित उपन्यास घामका पाइलाहरू मलाई मन परेकामध्येको एक पुस्तक हो । उपन्यासले ०३५ सालमै मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । यसको भाषा मलाई एकदमै सुन्दर लाग्यो । पुस्तकमा एउटा सहर वीरगन्जको कथा, त्यहाँको जीवनलाई एकदमै सुन्दर भाषामा प्रस्तुत गरिएको छ । ती कुरालाई एउटा उपन्यासमार्फत जसरी प्रस्तुत गरिएको छ, त्यो मलाई एकदमै राम्रो लाग्यो । किनभने, त्यसैलाई उपन्यास नबनाएर गैरआख्यानमा प्रस्तुत गर्दा अर्कै किसिमको हुन्थ्यो । तर, त्यहाँ पात्र सिर्जना गरेर तिनीहरूमार्फत जुन किसिमले प्रस्तुत गरिएको छ । यो उपन्यास आख्यानमार्फत समाज बताउने एउटा गतिलो पुस्तक हो । 

नेपाल : नखुलेका पाटाहरू : यो पुस्तक डा. तीर्थबहादुर श्रेष्ठले लेखेका हुन् । पुस्तकले नेपालको भौगोलिक अवस्था कस्तो छ ? प्राकृतिक अवस्था कस्तो छ ? भन्ने देखाउँछ । अर्थात्, हामी जुन धर्तीमा बसिरहेका छौँ, त्यसको सबल पक्ष, दुर्बल पक्ष के हो ? भन्ने प्रस्टसँग बताएको छ । हामी जुन देशमा बसेका छौँ, जुन क्षेत्रमा बसेका छौँ, हिमालय क्षेत्र । तलतिर पहाड र त्यसदेखि तलतिर मधेश । यसमा प्राकृतिक स्रोत, साधन के–के छन् ? भन्ने उल्लेख गरिएको छ । जुन मलाई लाग्छ, हाम्रो देशलाई समृद्ध बनाउन थाहा नपाई नहुने कुरा हुन् । श्रेष्ठको अर्को विशेषता के हो भने उनले वैज्ञानिक कुरालाई अत्यन्तै सरल हिसाबले सललल बगेको हिसाबले बुझाइदिन्छन् । त्यसैले यो पुस्तक विषयवस्तुको दृष्टिकोण, यसमा भएको जानकारी र त्यही विज्ञानका जटिल जानकारीलाई सरल र सजिलो गरी बुझाउने भाषाका कारण मलाई यो पुस्तक मन परेको हो । 

सबै जातको फूलबारी : यो पुस्तक डोरबहादुर विष्टले लेखेका हुन् । पुस्तकले नेपालीबारे बताएको छ । विष्टको पुस्तकले यो ठाउँमा हामी कस्ता–कस्ता जातजाति, जनजाति बसेका छौँ ? उनीहरूको संस्कृति के हो ? भन्ने बताएको छ । अथवा पुस्तकले हामीले जो–जो मान्छे सम्पर्क गर्नुपर्ने हो, जे कुरा सुन्नुपर्छ, जे कुरा बुझ्नुपर्छ, ती मान्छेका भाषादेखि संस्कृतिका कुरा बताएको छ । पुस्तकलाई विष्टले सात–आठ कक्षामा पढ्ने विद्यार्थीले पनि सजिलैसँग बुझ्ने गरी प्रस्तुत गरेका छन् । नेपालीको बारेमा बुझ्न सघाउने भएकाले यो पुस्तक मलाई महत्वपूर्ण लागेको हो । 

कर्णाली लोक संस्कृति : यो पुस्तक पाँच भागमा छ, जुन मैले सबै पढेको छु । कर्णाली लोक संस्कृति भाग–१ (इतिहास खण्ड) सत्यमोहन जोशी, कर्णाली लोक संस्कृति भाग–२ (भौगोलिक दृष्टिकोण) जंगबहादुर सिंह, कर्णाली लोक संस्कृति भाग–३ (जनजीवन) बिहारीकृष्ण श्रेष्ठ, कर्णाली लोक संस्कृति भाग–४ (भाषा) चूडामणि बन्धु र कर्णाली लोक संस्कृति भाग–५ (साहित्य, संगीत, कला) प्रदीप रिमाल लेखक हुन् । यो नेपालको कुनै ठाउँको समग्र अध्ययन गरिएको पुस्तक हो । व्यापक रूपमा अध्ययन गरेर प्रकाशन गरिएको यो पुस्तकजस्तो सायदै अर्को छैन कि ! सिंहले पुस्तकमा कर्णालीको भौगोलिक अवस्थाबारे बताएको छ । ऐतिहासिक पाटोबाट जोशीले लेखेका छन् । मानवशास्त्रीय कोणबाट मानवशास्त्री श्रेष्ठले लेखेका छन् । लोक संस्कृतिको पक्षलाई श्रेष्ठ र भाषिक दृष्टिकोणले बन्धुले हेरेका छन् । 

लक्ष्मी निबन्ध संग्रह : लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित यो पुस्तक विचार, सोचाइ, अभिव्यक्ति र विषयको विविधताका कारण मलाई मन परेको हो । मैले केही समय वातावरण पत्रकारिता गरेँ । धेरै समय अगाडि वातावरणको कुरै नआउने सममा पनि उहाँले भनेका रहेछन्, ‘सास फेर्दा बिस्तारै फेर, नत्र भने अर्कोको भागमा परेको हावा थिचिएला र आफूलाई हीनताबोध होला ।’ उनको यो भनाइलाई आधार मान्ने हो भने वातावरण संक्षणका लागि योभन्दा ठुलो सूत्र छैन जस्तो लाग्छ । पुस्तकमा उल्लेख भएअनुसार जुन सम्पत्ति सार्वजनिक हो, त्यसलाई आफूले बढी उपयोग गर्नुहुँदैन । यो साँच्चै निबन्ध हो, निबन्धले मान्छेको सोचाइ, विचारलाई प्रभाव पार्छ । लालित्यपूर्ण तरिकाले प्रभाव पारेको छ । 

द हार्ट अफ नेचर अर द क्वेस्ट फर नेचुरल ब्युटी : यो पुस्तक फ्रान्सिस योङहस्वेन्डले लेखेका हुन् । मान्छेले प्रकृतिलाई कसरी हेर्न सक्छ ? माया गर्छ ? र त्यसलाई कसरी अभिव्यक्त गर्छ ? भन्ने कुरा पुस्तकमा बेजोडसँग प्रस्तुत गरिएको छ । पुस्तक पढ्दै गर्दा आजभोलि मान्छेले पर्यावरणलाई माया गर्छु भनेर प्रकृतिका बारेमा लेख्ने काम जबर्जस्ती लेखेजस्तो लाग्छ । यो पुस्तक प्रकृतिलाई मनदेखि नै माया गरेर लेखिएको पुस्तक हो । 

द वे अफ द ह्वाइट क्लाउड्स : यो पुस्तकका लेखक लामा अनागरिका गोविन्द हुन् । उनी बौद्ध धर्मावलम्बी हुन् । उनी श्रीलंका हुँदै कालिङपोङ आए । बौद्ध धर्मप्रति आकर्षित भए । त्यसपछि उनले तिब्बत भ्रमण गरे । त्यहाँको बौद्ध धर्म र प्रकृतिबारे लेखे । उनले पुस्तकमा प्रकृति र त्यहाँको जनजीवनबारे निकै राम्रो किसिमले लेखेका छन् ।