
नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रंगशालामा नेपालको युवा टोली साबिक विजेता बंगलादेशसँग २–१ ले पराजित भएको हो।
बंगलादेशलाई जित दिलाउन असिकुर रहमान र कप्तान नज्मुल फैसलले गोल गरे। नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए।
अब, बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल केही समयपछि भारतमै हुँदै छ। नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेतामा रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्।
समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार व्यहोरेको थियो। यता माल्दिभ्सँग २–२ को बराबरीमा रोकिएको बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो।
आज भएको सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सम्हालिएर खेलेको नेपाली युवा टोली दोस्रो हाफमा भने कमजोर देखियो। ७३औँ मिनेटमा असिकुरको गोलमार्फत बंगलादेशले अग्रता बनायो। आठ मिनेटपछि नज्मुलले टोलीको अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए। तर, लगातार बंगलादेशले नै दबाब बनाएपछि नेपाल बंगलादेशसँगै पराजित भयो। यसअघि पनि नेपाल फाइनलमा बंगलादेशसँगै पराजित भएको थियो।