१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format १२:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँचजना पक्राउ  

१२ तोला आठ लाल सुन र २४ तोला चाँदीका  गरगहनाहरु बरामद 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

कास्की प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । केही महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रमा घरको ताला फोरी चोरी भएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

ओलियाका अनुसार पक्राउ परेका उनीहरूबाट छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्रमा मोती माला, चन्द्रपोते, गेडी पोते, मंगलसूत्र, नौगेडी, पेन्डम माला, रातो स्टार पोते, सिक्री, औँठी, चिम्टी काँटा, पञ्चरत्ने बाला, टप, फूली, कानको ढुङ्ग्री, सुनका टुक्रा (ढिक्का), सुनका ससाना टुक्राहरूलगायत १२ तोला आठ लाल सुन, २४ तोला चाँदीका गरगहनाहरू, चोरीको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकलसँगै अर्को एक ग.२१ प ६७५३ नम्बरको स्कुटर र अन्य विभिन्न सरसामानहरू फलामको रड, ल्यापटपको चार्जर, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्टी, गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टालगायतका सरसामानसमेत बरामद गरेको ओलियाले जानकारी दिए ।

उनीहरूले पोखरा क्षेत्रमा नौ स्थानमा र तनहुँको तीन स्थानमा चोरी गरेको र चोरी गर्दा सुनका गरगहना र नगदलाई मात्र फोकस गर्ने गरेको कार्यक्रममा जानकारी दिइएकाे छ ।

 पाँच वर्ष जेल बसेर पुनः चोरीमा

पक्राउ परेका पाँचजना आफ्नै नातेदारहरू संगठित रूपमा लागेको खुलेको छ । उनीहरूमध्ये मुख्य नाइके जिल्ला तनहुँ शुक्लागण्डकी नपा १० शांखे बस्ने २६ वर्षका कट्टप्पा भन्ने सुवास विक रहेका ओलियाले जानकारी दिए ।  ठेक्कापट्टा (ढुंगा, गिटी बालुवा) गर्दै आएका उनलाई २९ वैशाखमा पोखरा २६ बुढीबजारबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि उनी ११ देखि २२ जेठ ०७४ सम्म कास्कीका विभिन्न स्थानबाट १९ लाख ९९ हजार ५६४ बराबरको धनमाल चोरी गरेको कसुरमा १४ असार २०७४ देखि १० जेठ ०७९ सम्म कारागार बसेर छुटेका थिए ।

कास्की जिल्ला अदालतले उनलाई कैदसँगै तीन लाख ५० हजार ५१५ रुपैयाँ जरिवानासमेत गरेको थियो । पाँच वर्ष कारागार बसेर छुटेका उनी त्यसपछि कतार गई तीन महिना बसेर पुनः नेपाल फर्केर चोरी कार्यमा लागेको प्रहरीले जनाएको छ । पोखरा– १०, रामबजारस्थित स्याङ्ग्जा कोल्माकोट सुनचाँदी पसल सञ्चालन गर्दै आएका स्याङ्जा पुतलीबजार– ९, काल्खु घर भई हाल पोखरा– १०, गौरीमार्ग बस्ने वर्ष ५३ का दुर्गाबहादुर सुनार भन्ने दुर्गाबहादुर थापालाई प्रहरीले वैशाख ३१ गते पोखरा– १०, गौरीमार्गबाट पक्राउ गरेको हो । नाताले उनी सुवास विकको मामा हुन् । थापा यसअघि २०५७ र २०६४ मा  कास्की प्रहरीबाट सार्वजनिक मुद्दामा अनुसन्धान परेका सँगै ६ असार ०८० मा वडा प्रहरी कार्यालय वालिङबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धानमा परेका व्यक्ति हुन्। 

मुख्य योजनाकार सुवासको फुपूको छोरा र दुर्गाबहादुर थापाको कालिगढ वर्ष २२ का शुक्लागण्डकी– ११ घर भएका गणेश सुनारलाई ३१ वैशाखमा पोखरा– १०, गौरीमार्गबाट, सुवासको ठुलोबुबाको छोरा ड्राइभर काम गर्ने शुक्लागण्डकी– १०, शांख घर भएका वर्ष २३ का विमल विकलाई वैशाख २६ गते पोखरा– ३२, मजुवाबाट र मुख्य योजनाकार सुवासको फुपूको छोरासँगै दुर्गाबहादुर थापाको कालिगढ वर्ष ३३ का स्याङ्जा पुतलीबजार– ९ काल्खु घर भई हाल पोखरा– २ बस्ने सुरेश विकलाई ३१ वैशाखमा पोखरा– १०, गौरीमार्गबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूले चोरी गरेको गरगहना आफ्नै नातेदार दुर्गाबहादुर सुनार भन्ने दुर्गाबहादुर थापालाई दिने गरेको भेटिएकाे छ ।

मुख्य योजनाकार सुवासले चोरी गर्न प्रयोग गर्ने गरेको ग.२२ प ४९८९ नम्बरको एनएस प्लसर मोटरसाइकल दाइ नाता पर्ने हाल कारगारमा हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगिरहेका नरबहादुर विकबाट प्राप्त गरेको र सो मोटरसाइकलसमेत चोरीको रहेको र रोयल इन्फिड बाइक दर्ता गरेको खुलेको ओलियाले जानकारी दिए ।