
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्षायाममा हुने जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले जुन वेला आगो लाग्छ त्यही वेला कुवा खन्ने सरकारको बुद्धि फेरियोस् भन्दै समयमै गम्भीर हुन आग्रह गरे ।
वर्षायाम सुरु हुन लागेको र नेपाल प्राकृतिक जोखिममा विश्वकै उच्च स्थानमा रहेकाले प्रभावकारी जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक बजेटको व्यवस्थापनसहित युद्धस्तरमा पूर्वतयारी गर्न आग्रह गरे । उनले भौगोगिक बनावट, जलवायु परिवर्तन र मानवीय गतिविधिले हरेक वर्ष आउने बाढी र पहिरोले सयौँ मानिसको ज्यान जानुका साथै अर्बौँको क्षति हुने गरेकाे बताए ।
उनले विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको क्षतिको विवरण हेर्ने मात्र सरकारको काम भएको बताए । प्राधिकरणले दिएको सुझाव सरकारले कहिले पनि गम्भीर रूपमा नलिएको केसीले आरोप लगाए ।