
एक साधुको आश्रममा सयौँ शिष्य थिए । उनीहरू सबै सात्विक नियमको अनुशासन पालनासँगै पूजाआजा र धार्मिक अनुष्ठानमा पनि सहभागी हुन्थे । उनीहरूमध्ये एक शिष्य भने जँड्याहा थिए । उनी न अनुशासनको पालना गर्थे, न पूजापाठ र धार्मिक अनुष्ठानमा सहभागी नै हुन्थे । अध्ययन कार्यमा भने उनी निकै तीक्ष्ण थिए ।
साधु वृद्ध हुँदै थिए । उनले आफूपछि कसलाई आफ्नो ज्ञानको रहस्य बताउलान् र आफ्ना उत्तराधिकारी घोषित गर्लान् भनेर आश्रममा सबैले आआफ्नै हिसाबले अनुमान लगाइरहेका थिए । धेरैले उनका केही प्रिय र गुणी शिष्यमध्ये कोही उनका उत्तराधिकारी बन्ने अनुमान लगाइरहेका थिए ।
तर, साधुले आफ्ना तिनै जँड्याहा शिष्यलाई बोलाएर आफ्नो ज्ञानको रहस्य बताएर उनैलाई आफ्नो उत्तराधिकारी घोषित गरिदिए । तर, साधुको यो निर्णय स्विकार्न बाँकी शिष्यलाई कठिन भयो । उनीहरूले साधुको विरोध गर्दै आआफ्नो आक्रोश पोख्न सुरु गरे । एक शिष्यले त क्रोधित हुँदै भने– एक साधु भएर पनि हाम्रा गुरुले एक जँड्याहालाई कसरी आफ्ना उत्तराधिकारी घोषित गर्न सक्नुभएको होला ? के उहाँले आश्रममा कुनै अनुशासित र गुणी शिष्य देख्नुभएन ?
शिष्यहरूका यस्ता प्रतिक्रिया साधुका कानमा पनि पुगे । उनले आश्रमका सबै शिष्यलाई एकै ठाउँमा बोलाएर भने– मेरा प्रिय शिष्यहरू हो, मैले मसित भएको रहस्य उसैलाई बताउन सक्थेँ, जसलाई मैले सबै कोणबाट बुझेको या जानेको छु । तपाईंहरू सबै निकै ज्ञानी र गुणी हुनुहुन्छ । अनुशासित पनि हुनुहुन्छ । तपाईंहरू सबैले जहिल्यै आफ्नो राम्रो पक्षलाई मात्र मेरा अगाडि देखाउनुभयो । आफ्ना कमी–कमजोरी कहिल्यै अगाडि आउन दिनुभएन ।
जसले गर्दा मैले तपाईँहरूलाई आधा मात्र चिन्न सकेको छु । यो अवस्था अलिक खतरनाक पनि हुन्छ । किनकि, प्रायः राम्रा गुणका पछाडि घमण्ड, असहिष्णुता, ईष्र्या आदि लुकेका हुन्छन् । त्यसैले, मैले जुन शिष्यको राम्रा, नराम्रा सबै पक्ष देख्न पाएको छु, उसैलाई मैले सबैभन्दा राम्रोसित बुझेको छु । त्यसैले, मैले यस्तो निर्णय गरेको हुँ ।