Skip This
जेन–जी पुस्तालाई वर्षमान पुनका तीन सुझाव 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार १२:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी पुस्तालाई वर्षमान पुनका तीन सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १२:३३:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात् (जेन–जी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् । विद्यार्थी एकता दिवसका अवसरमा पार्टीसम्बद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै पुनले जेन–जी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताए । त्यसका लागि राजनीतिक दलहरूले पनि वातावरण बनाइदिनुपर्ने उनको भनाइ थियो ।

पुनले जेन–जीलाई नेतृत्वमा ल्याउने प्रयासस्वरूप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे । जेन–जीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले कांग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियु हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे । 

‘जेन–जी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेन–जीको हातमा दिएर क्रान्ति गरेको छ। जेन–जीको हातमा नेतृत्व जानु आफैँमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेन–जीमा नेतृत्व जानु हो,’ पुनले भने । डिजिटल प्रविधिमा अब्बल देखिएको जेन–जी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे । 

‘जेन–जी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ ।  डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ,’ पुनले भने,  ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’  

कार्यक्रममा अतिथि र क्रान्तिकारीका पदाधिकारी टिमबिच मैत्रीपूर्ण प्रतियोगितासमेत भएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध विभिन्न माग राखेर ०२१ साल जेठ १ गते विद्यार्थीले राजधानीमा विशाल प्रदर्शन गरेका थिए । तत्कालीन पञ्चायती सरकारले आन्दोलन दबाउन ठुलो दमन गर्नुका साथै धेरैलाई पक्राउ गरेर थुन्यो । तर, विद्यार्थी आन्दोलन रोकिएन । थप सशक्त बनेको विद्यार्थी आन्दोलनका अगाडि झुकेर पञ्चायती सरकार क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनेसहित अधिकार दिन बाध्य भयो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको छ ।