
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रणको अवधारणालाई बेवास्ता गर्दै १२ चैतसम्म ग्रिड कनेक्सन सम्झौता गरेका सबै जलविद्युत् परियोजनासँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै १० मेगावाटभन्दा ठुला जलविद्युत् परियोजनालाई पिपिएको प्रक्रियामा आउन आग्रह गरेको हो ।
प्राधिकरणले १० मेगावाटभन्दा साना परियोजनाको पिपिए भने नियमित रूपमै गर्दै आएको छ । तर, ठुला परियोजनाको पिपिए भने कोटा प्रणालीमा हुँदै आएको छ । विगतमा सरकारले दिएको कोटा सकिएपछि दुई वर्षदेखि त्यस्ता परियोजनाको पिपिए हुन सकेको थिएन । अहिले प्राधिकरणले आर्थिक दायित्वसँग जोडिएको विषयमा समेत सरकारको स्वीकृति नलिई पिपिए खुलाउने निर्णय गरेको हो । यद्यपि, ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न यस्तो निर्णय गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ । उक्त मार्गचित्रले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
१२ चैतसम्म ग्रिड कनेक्सन सम्झौता गरेर पिपिए हुन बाँकी रहेका परियोजनाको संख्या ५४ रहेको छ । उनीहरूको जडित क्षमता भने चार हजार नौ सय ६६ मेगावाट छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले १२ चैतसम्म ग्रिड कनेक्सन सम्झौता गरिएको परियोजनाका लागि मात्रै पिपिए खुला गरिएको बताए । सम्बन्धित परियोजना ३० दिनभित्र पिपिए गर्ने प्रक्रियामा आउनुपर्ने उनले बताए ।
नेपालमा परियोजनासँग विद्युत् खरिद–बिक्री गर्ने अधिकार प्राधिकरणसँग मात्रै छ । सरकारी स्वामित्व भएका कारण सरकारले तोकिदिएको सीमामा रहेर प्राधिकरणले पिपिए गर्दै आएको थियो । त्यसमा ऊर्जा मिश्रण नीति तथा अवधारणासहित कोटा प्रणालीमा पिपिए गर्दै आएको थियो । यसअघि ०७५ मा सरकारले ०८५ भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । त्यो अवस्थामा मन्त्रिपरिषद्कै निर्णयका आधारमा प्राधिकरणले १५ हजार मेगावाटको कोटामा पिपिए गरिरहेको थियो । सोअनुसार जलाशययुक्त तथा पम्प स्टोरेजबाट २०–२५ प्रतिशत, अर्धजलाशयबाट २५–३० प्रतिशत, नदीप्रवाहबाट ४०–४५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबााट ५–१० प्रतिशतको अनुपातमा विद्युत् उत्पादन गर्ने र सोहीअनुसार पिपिए गर्ने नीति थियो ।
पछिल्लोपटक सरकारले सन् ०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मन्त्रिपरिषद्बाटै निर्णय गराएर पिपिए खुलाउनुपर्ने थियो । साथै, ऊर्जा मिश्रणको नीति पनि अवलम्बन गर्नुपर्ने थियो । तर, प्राधिकरणले ऊर्जा मिश्रण नीतिलाई बेवास्ता गरेर मन्त्रिपरिषद्को समेत स्वीकृती नलिई आफ्नै ढंगले पिपिए खुलाएको हो ।
नेपालको विद्युत् उत्पादन चक्र एकदमै असन्तुलित छ । अधिकांश परियोजना नदीप्रवाहमा आधारित हुँदा विद्युत् धेरै भएर खेर जाने अवस्था छ । हिउँदमा कम उत्पादन हुँदा आन्तरिक माग धान्न भारतबाट आयात गर्नुपर्छ । त्यो अवस्थामा नेपालमा पम्प स्टोरेज, जलायशयुक्त प्रकृतिका परियोजनाको अपरिहार्यता उच्च छ । सोहीअनुसार सरकारले पनि पहिलादेखि नै ऊर्जा मिश्रणको अवधारणा ल्याएर पिपिए खुलाउँदै आएको थियो । अहिले ऊर्जा मिश्रणको अवधारणालाई बिर्सेर पिपिए खोल्दा भविष्यमा प्राधिकरणलाई वित्तीय संकट आउन सक्ने प्राधिकरणकै एक कर्मचारीले बताए । अहिले प्राधिकरणले पिपिएका लागि आह्वान गरेकोमा १८ सय ५९ मेगावाटका ३८ वटा नदीप्रवाहमा आधारित परियोजना छन् । यसैगरी, पिक रन अफ रिभर प्रकृतिका १६ परियोजना छन्, उनीहरूको जडित क्षमता भने ३१ सय सात मेगावाट छ ।
प्राधिकरणका पूर्वसञ्चालक कपिल आचार्यले ऊर्जा मिश्रण अवधारणाविपरीत पिपिए खुलाउँदा भविष्यमा समस्या आउन सक्ने बताए । ‘पिपिए खुलाउँदा पनि ऊर्जा मिश्रण अवधारणाअनुसार नै जानुपर्ने हो । यसरी हचुवामा पिपिए गर्दा भविष्यमा समस्या आउन सक्छ,’ उनले भने ।
के हो ऊर्जा मिश्रण अवधारणा ?
एउटै प्रकृतिका स्रोतका भर पर्दा विद्युत् आपूर्ति सन्तुलित, विश्वसनीय, भरपर्दो र दिगो हुँदैन । तसर्थ, ऊर्जाका अधिकांश स्रोतलाई मिलाएर प्रयोगका लागि यस्तो अवधारणा अघि बढाइएको हो । यसले विद्युत् आपूर्तिमा विविधता ल्याउनेछ । सोहीअनुसार नेपालमा पनि जलाशययुक्त तथा पम्प स्टोरेजबाट २०–२५ प्रतिशत, अर्धजलाशयबाट २५–३० प्रतिशत, नदीप्रवाहबाट ४०–४५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट ५–१० प्रतिशतको अनुपातमा विद्युत् उत्पादन गर्ने नीति ल्याइएको थियो, सोहीअनुसार पिपिए गर्ने नीति छ ।