
भारतको उत्तरी राज्य पन्जाबको अमृतसर जिल्लामा विषाक्त रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
भारतमा बर्सेनि सयौँ मानिसले घरमा बनाइएका विषाक्त रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । घरमा बनाइने रक्सी कडा बनाउन ‘मेथानोल’ मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नुका साथै कलेजोमा क्षति पुग्ने र मृत्युसम्म निम्त्याउन सक्छ ।
सोमबार रातिको पछिल्लो घटनामा अमृतसर जिल्लाको पाँचवटा गाउँ प्रभावित भएका छन् । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दा बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहले घटनामा २१ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।
घटनापछि प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए ।