
२५६९औँ बुद्धजयन्तीको तयारी कस्तो छ ?
बुद्धजयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी लगभग सकिइसक्यो भन्दा हुन्छ । आजै (आइतबार)देखि बुद्धजयन्तीका विभिन्न कार्यक्रम सुरु भइसकेका छन् । मायादेवी मन्दिरपरिसरमा महापरित्राण आइतबारको रातैभरि चल्नेछ । सोमबार बिहान ६ बजेदेखि विभिन्न देशका प्रतिनिधिबाट विभिन्न भाषामा अन्तर्राष्ट्रिय बुद्धप्रार्थना हुनेछ । त्यसपछि मायादेवी मन्दिरपरिसरबाट शोभायात्रा सुरु हुनेछ । सो शोभायात्रा औपचारिक कार्यक्रम स्थलमा पुगेर टुंगिनेछ । बिहान ९ बजेपछि औपचारिक कार्यक्रम आयोजना हुनेछ । जसमा सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको उपस्थिति रहनेछ । सो कार्यक्रममा विभिन्न देशका राजदूत र अन्य प्रतिनिधिले समेत मन्तव्य राख्नुहुनेछ ।
बुद्धजयन्ती मनाइँदै गर्दा बुद्धलाई अहिलेको पुस्ताले कसरी सम्झिनु ठिक होला ?
अहिलेको नयाँ पुस्ताले मात्र होइन, सबैले बुद्धलाई सम्झिनु र उहाँले देखाएको बाटो अनुसरण गर्नु जरुरी छ । जन्मपछि दुःख हुन्छ । दुःखबाट मुक्ति सम्भव छ । त्यसका लागि माया, मोह, लोभजस्ता चतु आर्यसत्यबाट मुक्ति पाउनु जरुरी छ । जिम्मेवारी, लोभलालचबाट मुक्ति, शान्ति, सहिष्णुता आदि हामीले अहिले पनि बुद्धका वचनबाट सिक्न जरुरी छ ।
अहिलेको अशान्त विश्वमा बुद्धका उपदेशको सान्दर्भिकता कति देखिन्छ ?
हो, अहिले विश्व निकै अशान्त र आक्रामक देखिएको छ । बुद्धका सन्देशलाई मनन गर्न सके संसारमा झगडा हुँदैन, दुःखबाट मुक्तिका लागि मात्र नभई शान्तिका लागि पनि बुद्धलाई सम्झिनु, उहाँका विचारलाई मनन गर्नु आवश्यक छ । बुद्ध, बुद्धवचन र शान्ति एक–अर्काका पर्याय नै हुन् भन्दा फरक पर्दैन ।