
अमेरिकाको न्युयोर्क प्रहरीले बुधबार कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने दर्जनौँ प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।
कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर सिपम्यानको एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरू जबर्जस्ती बटलर पुस्तकालयमा प्रवेश गरेकाले पक्राउ गरिएको जनाएका छन्।
‘प्रदर्शनकारीहरू जबर्जस्ती बटलर पुस्तकालयमा प्रवेश गरे,’ उनले भने, ‘यस घटनामा परी विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएका छन्।’
सिपम्यानले न्युयोर्क प्रहरीबाट सहयोग मागेको बताए। न्युयोर्क सहर प्रहरी विभागले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी गराएको छ।
‘जहाँ धेरै व्यक्तिले पुस्तकालय कब्जा गरेका थिए। कोलम्बिया विश्वविद्यालयको अनुरोधमा हामीले क्याम्पसमा भएको परिस्थितिलाई नियन्त्रणमा लिएको हो,’ प्रहरीले भनेको छ।
क्याम्पसको पत्रिका कोलम्बिया स्पेक्टेटरका अनुसार प्रहरीले ७० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।
यसैबिच, विश्वविद्यालयका अध्यक्ष सिपम्यानले अधिकांश प्रदर्शनकारी विश्वविद्यालयका विद्यार्थी नभएको दाबी गरेका छन्।