१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं-रारा पर्यटक बससेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन हुने भएको छ। अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको हो।

पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीबार नेपाल पर्यटन बोर्डबाट प्रस्थान गरेका हुन्। भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए।

‘काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ। पर्यटकलाई कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौँ,’ उनले भने। भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने उनको भनाइ छ।

टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौंदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए। ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ। हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ,’ उनले भने। 

टिबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताएका छन्। उनी भन्छन्, ‘रारा जाने यो उपयुक्त सिजन हो, काठमाडौंबाट बसयात्रा गराएर रारा पुर्‍याएर यसका लागि थप प्याकेज बनाउन सक्यौँ भने रारामा पर्यटकको संख्यामा वृद्धि हुन्छ।’

भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन्। अध्ययनपछि नियमित पर्यटक बससेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ। रासस