
गत शुक्रबार हेटौँडा १६ र १७ को सीमानजिकै जमिनमुनि भासिएको गाडीको वास्तविक अवस्था पत्ता नलाग्दै अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोली काठमाडौं फर्किएको छ । घटनास्थलमा भूगर्भीय जोखिम रहेकाले तत्काल थप अध्ययन गर्न कठिन भएपछि टोली बुधबार काठमाडौं फर्किएको हो ।
अध्ययनका लागि आएकाे टोलीका सदस्यहरूले गाडी भासिएको स्थानमा थप जमिनको सहत बिस्तारै भासिन थालेपछि खतराको महसुस गरेर अध्ययन स्थगित गरेको जनाएका छन् । मंगलबार बिहानबाट घटनास्थल पुगेको भूगर्भविद् नारायण अधिकारी नेतृत्वको टोलीले भासिएको गाडी र घटनास्थलआसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । बुधबार पनि अघिल्लो दिनको कामलाई निरन्तरता दिने क्रममा घटनास्थलको जमिन र त्यसवरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भूगर्वविद् अधिकारीले बताए ।
उनका अनुसार गाडी भासिएको भनिएको खाल्डोभित्र पावर अगर प्रयोग गर्ने क्रममा जमिन थप भासिने र पानीको तह बढ्दै गएपछि अध्ययन कार्य स्थगित गरिएको हो । उक्त अवस्थामा जमिन कम्पन वा धक्काको कारणले तरल बन्ने भएकाले अध्ययन कार्य स्थगित गरिएको उनले बताए। बुधबार टोलीले काम गरिरहँदा पुनः घटनास्थलको वरपरको जमिनको ठुलो भाग भासिएको थियो।
‘हामीले गाडी भासिएको भनिएको ठाउँमा गएर मंलबार र बुधबार म्याग्नेटो मिटर र पावर अगरको प्रयोगबाट अध्ययन गर्यौँ। गाडी भासिएको भनिएको ठाउँमा ठुलो दलदल बनेको छ,’ उनले भने, ‘बुधबार पुनः अघिल्लो दिनको कामलाई निरन्तरता दिँदै गर्दा गाडी भासिएको स्थानको वरपरको जमिन धसिन थाल्यो । जमिन धसिने क्रम नरोकिँदा, सुरक्षा खतराका कारण हामीले काम रोकेका हौँ ।’
यस्तै, अर्का भूगर्भविद् कृष्ण पाण्डेले गाडी भासिएको स्थानमा ठुलो खाडल बनेको र निरन्तर तलबाट आउने पानी जमेर दलदल बनेको कारण काम गर्न कठिन भएको बताए । अहिलेकै अवस्थामा उक्त स्थानमा काम गर्न निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुने निष्कर्षमा आफूहरू पुगेपछि काम रोकेको उनको भनाइ छ ।
भूगर्वविद् पाण्डेले उक्त स्थानको जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका साथै वरपरका विभिन्न स्थानबाट नमुना संकलन गरिएको जानकारी दिए । घटनास्थल र आसपासका पाँच स्थानबाट ६० भन्दा बढी नमुना लिएर परीक्षणका लागि काठमाडौं फर्किएको उनले बताए ।
उनका अनुसार गाडी भासिएको खाल्डोबाट पावर अगरको सहायता र सो क्षेत्रबाट ४० भन्दा बढी नमुनाहरू संकलन गरिएको छ । मंगलबार र बुधबार गरेर खाल्डोबाट सात स्थानमा पावर अगर प्रयोग गरेर ४० भन्दा बढी नमुना संकलन गरिएको हो । खाल्डाेबाहेकको सो आसपास क्षेत्रको चार स्थानबाट प्रतिस्थान सातवटा नमुना संकलन गरिएको उनको भनाइ छ । संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए ।
घटनास्थलमा शक्तिशाली चुम्बकीय क्षेत्र छ, तर गाडी नै हो भन्न सकिएन : भूगर्भविद्
दुई दिनसम्म भासिएको गाडीको स्थानबारे अध्ययन गरेको भूगर्भविद्को टोलीले परीक्षणका लागि म्याग्नेटो मिटर र पावर अगर प्रयोग गरिएको थियो । सुरुवातमा भूगर्भविद्हरूले स्थलगत रूपमा गाडी भासिएको क्षेत्रको भूबनोट अवलोकन गरेका थिए । म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानबारे पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि यकिनका साथ त्यो गाडी नै हो भन्ने अवस्था नरहेको भूगर्भविद् कृष्ण पाण्डेले बताए ।
उनका अनुसार म्याग्नेटो मिटरको प्रयोगबाट उक्त स्थानमा कुनै शक्तिशाली चुम्बकीय क्षेत्र पत्ता लागको छ। पावर अगरले ड्रिल गर्दा पनि ६ मिटरको गहिराइसम्म कुनै धातुजन्य वस्तु फेला परेको उनको भनाइ छ। तर, बुधबारबाट थप अध्ययन गर्ने वातावरण नबन्दा अध्ययन पूरै नगरी ब्याक हुनुपरेको उनले बताए ।
‘घटनास्थलमा कुनै शक्तिशाली चुम्बकीय क्षमता भएको वस्तु देखिन्छ। हामीले परीक्षणका लागि प्रयोग गरेको म्याग्नेटो मिटरले उक्त स्थानमा धातुजन्य वस्तु छ भन्ने संकेत गरेको छ,’ उनले भने, ‘तर, त्यो गाडी नै हो भन्न सक्ने अवस्था भने छैन। हामीले गाडीका पार्टपुर्जा भेट्ने गरी काम गरेका होइनौँ ।’ भूगर्भविद् पाण्डेले पावर अगरको प्रयोगबाट ड्रिल गर्दा जमिनमुनि ६ मिटरमा फलामजन्य वस्तु रहेको निश्चित गरेको बताए।
बुधबार बिहानबाट फलामजन्य वस्तु लोकेट भएको स्थानको आसपास पुनः पावर अगर प्रयोग गरी ड्रिल गरेको र सो स्थानको माटो तथा भूमिगत जलको परीक्षण गर्ने गरी केही नमुनाहरू पनि संकलन गरेको उनले जानकारी दिए । दुई दिनसम्म गरेको परीक्षण र संकलन गरेको नमुनाको आधारमा प्रतिवेदन तयार पर्ने उनले बताए ।
गाडी भासिएको क्षेत्रको भूबनोट निकै कमजोर, घटनास्थलको वरपर ५० मिटर क्षेत्रलाई सिल गर्न सुझाव
खानी तथा भूगर्भ विभागबाट आएको भूगर्भविद्हरूको टोलीले गाडी भासिएको स्थानको भूबनोट निकै कमजोर र तरलतायुक्त रहेको निष्कर्ष निकालेको छ । माथिल्लो भागमा केही माटो भरिए पनि तल्लो भागमा बालुवा तथा दलदलयुक्त माटो रहेको टोलीको निष्कर्ष छ । दुई दिनसम्म अप्रत्यक्ष प्रविधिको प्रयोग गरेर अध्ययन गर्दा भूगर्भीय तरलीकरणका कारण गाडी भासिएको अनुमान गरिएको भूगर्भविद् नारायण अधिकारीको भनाइ छ ।
जमिनमाथि माटो देखिए तापनि सतहमुनि फाइन स्यान्ड (मसिनो बालुवा) र दलदल परेको माटो रहेको उनले जानकारी दिए । म्याग्नेटो मिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराइमा पुरिएको अनुमान गरिएको र सो स्थानको भूबनोट तथा भूमिगत जलको मिश्रणले जमिनको सतह कमजोर रहेको अध्ययनको प्रारम्भिक रिपोर्ट रहेको उनले बताए ।
‘घटनास्थलका केही जमिनहरू चिरा पर्ने र फाटिने क्रम बढ्यो । हामीले खाल्डोभित्र केही स्थानमा पावर अगर प्रयोग गरिररहेका थियौँ । केही स्थानको काम नै पूरा गर्न सक्ने अवस्था बनेन,’ उनले भने, मंगलबारको अध्ययनमा गाडीको लनेकेसन पत्ता लगाउने विषय प्राथमिकतामा थियो । हामीले म्याग्नेटबाट उक्त लोकेसनलाई मार्किङ पनि गरेका थियौँ । नतिजा सकारात्मक थियो । सोहीअनुसार बुधबार काम गर्दै जाँदा थप जोखिम हुने देखिएपछि अध्ययन कार्य स्थगित गुर्नपर्यो ।’
भूगर्भविद् अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकालाई उक्त स्थानको वरपर ५० मिटर क्षेत्रलाई सिल गर्न सुझाव दिएइको छ । सुरक्षा सतर्कतासहित बढी भार वहन भएका सवारीसाधनहरू आवतजावतमा पनि रोक लगाउन आग्रह गरिएको उनले बताए ।दुई दिनको अध्ययनको रिपोर्टपछि थप प्रक्रिया अघि बढाउन समन्वय गर्ने गरी काठमाडौं फर्किएको उनको भनाइ छ । उनका अनुसार सो स्थानबाट तत्काल गाडी निकाल्ने वा सो प्रकृतिको काम नगर्न आग्रह गरिएको छ ।
उक्त क्षेत्रमा निर्माण कार्य गर्नुअघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको भूगर्भविद् अधिकारीले बताए । विशेषगरी माछापोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङजस्ता संरचनाहरूका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भको अध्ययन अनिवार्य रहेको उनको भनाइ छ । यसअघि ०६२ मा हेटौँडाको भौगर्भिक अध्ययनको क्रममा प्रकाशित नक्सामा उक्त क्षेत्रको आसपासमा ठुला भौतिक संरचनाहरू निर्माण नगर्न सुझाव दिएको पनि उनले जानकारी गराए ।