१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार १८:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै एक घण्टा धर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १८:१६:oo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि रुपन्देहीको निजी क्षेत्र आन्दोलित भएको छ। उद्योग उद्योग व्यापार संगठन रुपन्देहीको अगुवाइमा बुधबार विमानस्थल गेटअगाडि व्यवसायीहरूले एक घण्टा धर्ना दिएका हुन्।

लामो प्रतीक्षापछि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अझैसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु नभएपछि रुपन्देहीका व्यवसायीहरू आक्रोशित बन्दै आएका छन्। उनीहरूले रुपन्देही आएका सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई विमानस्थल सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाउँदै आएका छन्।

स्थायीत्वपूर्ण समाधानको माग गर्दै उनीहरूले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य गेटअगाडि धर्ना र विरोध प्रदर्शन गरे। ‘हामीले शान्तीपूर्ण रूपमा विरोध गरेका छौँ, यसलाई सरकारले कमजोर नसोचोस्,’ उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने। धर्ना कार्यक्रममा रुपन्देहीका दुई दर्जन बढी संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

विमानस्थलको लापरबाहीपूर्ण व्यवस्थापनप्रति तीव्र असन्तुष्टि जनाउँदै चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार र सम्बन्धित निकायलाई सहभागीहरूले आग्रह गरेका छन्। चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यावसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औँल्याए।

संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले काठमाडौंकेन्द्रित ठुला व्यापारी र बिचौलियाको दबाबमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए। ‘विमानस्थलको आशामा भएको लगानी जोखिममा छ,’ उनले भने।

विमानस्थल नियमित सञ्चालनका लागि आन्दोलनको विकल्प नरहेको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए। ‘यो विमानस्थल सञ्चालन नहुनु सरकारको ठुलो षड्यन्त्र हो,’ उनले भने।

सिद्धार्थ सहकारी सञ्जालका अध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल नियमित सञ्चालनका लागि नागरिकस्तरबाटै आन्दोलनमा होमिन सबै सरोकारवाला निकायलाई आग्रह गरे।

यसैगरी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले विमानस्थल नियमित सञ्चालन गर्ने हो भने निजी क्षेत्र एक हुनुपर्ने भन्दै आन्दोलनमा होमिन सबैलाइ आह्वान गरे।

लुम्बिनी इँट्टा व्यवसायी संघका अध्यक्ष अजय गुप्ताले विमानस्थल काठमाडौंका केही व्यवसायीहरूले आफूअनुकूल सञ्चालन गरिरहेको बताउँदै सरकार मुकदर्शक बनेको आरोप लगाए। तत्काल सुधार नभए उनीहरूले आन्तरिक उडान अवरुद्ध गर्ने, मन्त्रीहरूको बहिष्कार गर्ने र काठमाडौंमै पुगेर मन्त्रालय घेराउ गर्नेजस्ता चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय समृद्धिको ढोका मानिएको थियो। तर, आवश्यक नीतिगत र व्यवस्थापकीय सक्रियता नहुँदा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। फलस्वरूप, पर्यटन, व्यापार र लगानीका अवसरहरू खेर गइरहेका छन्।