
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ४ नाला भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको मूर्ति निर्माण भएको छ। बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मूर्ति निर्माण गरिएको हो।
बुधबार उक्त बुद्धको मूर्ति प्राण प्रतिष्ठा तथा उद्घाटन गरिएको छ। बनेपा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले मूर्तिको छोपेको अनुहार खोलेर उद्घाटन गरेका हुन्। बौद्ध धर्मअनुसार लामाले पूजा गरेर मूर्तिको प्राणप्रतिष्ठा पनि गरिएको छ।
उक्त बुद्धको मूर्ति निर्माणमा अग्रसरता लिएका सत्यमान लामाका अनुसार मूर्ति निर्माणका लागि करिब ४० लाख रुपैयाँ खर्च भएको छ। उक्त रकम चन्दा उठाएरै निर्माण गरेको उनको भनाइ छ। पर्यटकीयस्थल नगरकोटको फेदीमा पर्यटक आकर्षण गर्नको लागि मूर्ति निर्माण गरेको उनको भनाइ छ। ‘सँगै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत भएकाले धार्मिक सहिष्णुता कायम हुने भएकाले पनि बुद्धको मूर्ति निर्माण गरेका हौँ,’ उनले भने।
भुइँचालो डाँडालाई धार्मिक पर्यटनको हब बनाउनुपर्छ भन्ने हेतुले ब्रह्माको मूर्तिसँगै बुद्धको मूर्ति पनि बनाएको स्थानीय तुलप्रसाद दाहालले बताए। यो क्षेत्रको विकासको लागि स्थानीय सरकारबाट सुरु गरेकोमा अहिले प्रदेश सरकार र संघीय सरकारले समेत चासो दिन थालेको उनको भनाइ छ।
बुद्धको मूर्ति भएको स्थानमा थेरापी पार्क निर्माण हुने समाजसेवी गणेश मोक्तानले जानकारी दिए। पार्क निर्माणको लागि बागमती प्रदेश सरकारबाट एक करोड ६५ लाख बजेट प्राप्त भएको उनले बताए। यो स्थानलाई बिस्तारै पर्यटकीयस्थलको रूपमा विकास गर्दै जाने उनको भनाइ छ।
उक्त स्थानमा केही वर्षअघि एसियाकै पहिलो ब्रह्मायणीको पूर्ण कदको मूर्तिसहितको ब्रह्मायणी पार्क निर्माण भइसकेको छ।