१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
२o८२ बैशाख २४ बुधबार ११:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूगर्भविद्को अनुसन्धान : भासिएको गाडी ६ मिटर तल पुगेको अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:o४:oo

खानी तथा भूगर्भ विभागको टोलीले भासिएको गाडी ६ मिटर तल पुगेको अनुमान गरेकाे छ । गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नं. १६ र १७ को सिमानानजिकै गैरीगाउँस्थित भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी (भ्यान) एक्कासि जमिनमुनि भासिएर बेपत्ता भएकाे थियाे । 

हेटौँडामा गत शुक्रबार ना.४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि भासिएर हराएको विषयमा अध्ययन गर्न आएको खानी तथा भूगर्भ विभागको टोलीले अनुसन्धानकाे काम जारी राखेको छ ।

यसअघि भूगर्भविद्को टोलीले हिजो मंगलबार साँझ भासिएको गाडीको लोकेसन पत्ता लगाएकाे थियाे । मंगलबार बिहानबाट काम थालेकाे टाेलीले साँझ मात्रै सम्भावित लोकेसन पत्ता लगाएकाे थियाे ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चारजनाको टोलीले अध्ययनका लागि प्रयोग गरेका विभिन्न तरिकामध्ये ड्रिलिङका क्रममा गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटर भन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन् ।

टोलीका एकजना सदस्य भूगर्भविद् नारायण अधिकारीले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानबारे पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको  गाडी हुन सक्ने अनुमान गरेको जानकारी दिए ।

उनले सम्भावित स्थानमा गरिएको तीनवटा ड्रिलिङमध्ये एउटामा ड्रिलिङ रड आठ मिटरको गहिराइसम्म सजिलै गएको र त्यसपछि गरिएका दुईवटा ड्रिलिङका क्रममा ड्रिलिङ रड ६ मिटरमा रोकिएको बताए । यसैलाई आधार मान्दा उक्त दुई स्थानमा ड्रिल रड ६ मिटरभन्दा तल नगएका कारण त्यहाँ भासिएको गाडी हुन सक्ने आफूहरूले अनुमान गरेको उनको भनाइ छ ।

‘हामीले सबैभन्दा पहिले त प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाउने कोसिस गर्‍यौँ । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको संकेत अन्य स्थानको तुलनामा निकै बढी देखियो,’ उनले भने, ‘त्यसैको आधारमा हामिले उक्त स्थानमा ड्रिल गर्दा तीनमध्ये दुई स्थानमा ड्रिल रड ६ मिटरमै रोकिएपछि हामी गाडी भएको लोकेसनमा पुग्यौँ भन्ने अनुमान गरेका हौँ ।’

यद्यपि, यसैलाई आधार मानेर गाडी सोही स्थानमा छ भन्न भने नसकिने उनले स्पष्ट पारे । भूगर्भशास्त्री अधिकारीले बुधबार पनि अन्य सम्भावित स्थानमा ड्रिलिङ गरेर गाडीको अवस्था जाँच गरिने बताए ।  गाडीसँगै यहाँको भौगोलिक अवस्थाको बारेमा पनि टोलीले अध्ययन गर्नेछ ।

अर्का भूगर्भविद् कृष्ण पाण्डेले प्रोटोन म्याग्नेटोमिटरको सहायताले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठुलै चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक)को अवस्था संकेत प्राप्त भएको र सोही संकेतको आधारमा आफूहरूले ड्रिलिङ गरेको र खोजीको अन्तिम चरणमा पुगेको जानकारी दिए । भूगर्भविद् पाण्डेका अनुसार टोलीले घटनास्थलसँगै आसपाको भू-बनोट, भूमिगत जलस्रोतलगायतका बारेमा पनि अध्ययन गर्नेछ ।