१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ बैशाख २४ बुधबार o६:o३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ताए वामपन्थी राजनीतिज्ञ र प्रगतिशील साहित्यका उज्यालो तारा

राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति असन्तुष्ट नेपाल सादगी मृत्युवरणको तीन इच्छा सन्देश सुनाउँदै ब्रह्मलीन भए  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार o६:o३:oo

अग्लो कदका वाम राजनीतिज्ञ तथा प्रगतिशील साहित्यका उज्यालो तारा अर्थात् पूर्वमन्त्री प्रदीप नेपाल अस्ताएका छन् । बोली लर्बरिएकै अवस्थामा शनिबार नेपालले सान्निध्यमा रहेका भान्जा सुरेश निरौलालाई आइसियूबाट आफ्नो अन्तिम सन्देश सुनाए– ‘निधनपछि केही पनि तामझाम नगर्नू, पार्टीको झन्डा नओढाउनू र पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्नू ।’ तीन इच्छा सन्देश दिएपछि अचेतजस्तै बनेका नेपालले मंगलबार अपराह्न थापाथलीस्थित नर्भिक अस्पतालमा प्राणत्याग गरे  । 

त्यही सन्देशको मर्म पछ्याउँदै भाइ समीर र भान्जा सुरेशसहित परिवारको सल्लाहले नेपाललाई मंगलबार नै सादगी बिदाइ गरिएको छ । उनीसम्बद्ध पार्टी एमालेले पनि श्रद्धाञ्जलीको कुनै औपचारिक कार्यक्रम गरेन । 

यद्यपि, उनको बिदाइमा ठुलो भिड विद्युतीय शवदाह गृहपरिसरमा सहभागी भएको थियो । एमाले र नेकपा एससम्बद्ध नेता–कार्यकर्ता मात्र होइन, विभिन्न पार्टीका नेता–कार्यकर्ता तथा साहित्यकार र बौद्धिक क्षेत्रका धेरै व्यक्तिहरू अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति पुगेका थिए । प्रधानमन्त्री केपी ओलीले टेलिफोनबाटै श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता वामदेव गौतम, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलगायतका नेताहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । 

लामो समयदेखि पार्किन्सन रोगबाट थलिएका नेपाल राजनीतिबाट टाढिएर गोठाटार काँडाघारीस्थित निवासमै आराम गरिरहेका थिए । नियमित उपचारकै सिलसिलामा शुक्रबार अस्पताल पुर्‍याइएपछि शनिबारबाट उनमा निमोनियाको लक्षण देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि नेपाललाई तत्काल सघन उपचार कक्ष(आइसियू)मा भर्ना गरेर उपचार अगाडि बढाइएको थियो । तर, मंगलबार निधन भयो ।

पाँच दशकदेखि राजनीतिसँगै लेखन र साहित्य सिर्जनामा पनि समानान्तर रूपमा सक्रिय उनी स्वास्थ्य अवस्थाका कारण कोभिड महामारीपछि लेखनमा क्रमशः निष्क्रिय बन्दै गएका थिए । विकृति–विसंगतिलाई अक्षरबाट उदांगो बनाउँदै खबरदारी गर्ने नेपाललाई रुचाउने र पढ्ने ठुलो संख्यामा रहेका पाठक उनको लेखन सन्देशबाट वञ्चित बनिरहेका थिए । 

परिवारका सदस्यहरूका अनुसार राजनीतिक अस्थिरता, प्रमुख दलका पार्टीका शीर्ष नेताहरूको सरकार ढाल्ने, झुटो बोल्नेजस्ता अनैतिक कार्यशैली र व्यवहारसँगै एमालेको पछिल्लो विभाजनप्रति नेपालले दिक्दारी जनाएर असन्तुष्टि प्रकट गर्दै आएका थिए । ‘अहिले देशको परिस्थिति ठिक भएन, राजनीतिक अस्थिरताले जनतामा असन्तुष्टि बढ्यो, आन्दोलनको लक्ष्यबाट पार्टीहरू बिचलित बन्न थाले, नेताहरूको सोच र कार्यशैली पनि ठिक भएन, वेला–वेला भन्ने गर्नुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भान्जा निरौलाले नयाँ पत्रिकासँग भने । 

२८ पुस ०१० मा भोजपुरमा जन्मिएका नेपाल १६ वर्षे किशोर उमेरमै राजनीतिमा प्रवेश गरेर ०७१ सम्म सक्रिय थिए । ६० वर्ष पुगेपछि कार्यकारी पद लिएर सक्रिय राजनीति नगर्ने वचन पूरा गर्दै ०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय कमिटीमा निर्वाचित भएर पनि क्रमशः निष्क्रिय भएका थिए । लेखनको माध्यमबाट समसामयिक राजनीतिप्रति तिखो व्यंग्य प्रहार गर्न सक्ने नेपाल शिथिल बन्दै गएपछि जीवनको आखिरीतिर राजनीति र नेताहरूको व्यवहारप्रति दिक्दारी जनाउँदै आएका थिए ।

०५१ मा पहिलोपटक सूचना तथा सञ्चारमन्त्री बनेका नेपाल त्यसपछि जलस्रोतमन्त्री हुँदै शिक्षामन्त्री पनि बनेका थिए । उनी एक प्रखर वक्ता, लेखक, साहित्यकार र प्रभावशाली नेता हुन् । राष्ट्रिय राजनीतिमा हक्की स्वभावका एक प्रखर वक्ताको समेत परिचय बनाएका नेपाल २०३३ सालमा सुरुङ खनेर नक्खु जेल ब्रेक गर्ने सिपी मैनालीसहित १५जनामध्येका एक चर्चित क्रान्तिकारी योद्दा पनि थिए । राजा र पञ्चायतविरोधी पर्चा छर्दा पक्राउ परेर १० वर्ष जेल सजाय सुनाइएका उनले छुटेपछि ‘मुक्त आकाशको खोजी’ जेल संस्मरण नै लेखेका थिए । 

त्यति मात्र होइन, पत्रकारिता पृष्ठभूमिबाट उदाएका नेतासमेत थिए नेपाल । मिसन पत्रकारिताका लागि स्थापित छलफल साप्ताहिकको संस्थापक र पूर्वसम्पादकसमेत रहेका नेता नेपालले लामो समयदेखि समसामायिक विषयमा विभिन्न पत्रपत्रिकामा स्तम्भकारकै रूपमा कलमसमेत चलाउँदै आएका थिए । पत्रकारिता पृष्ठभूमि भएका कारण उनी मिडियाको सधैँ हेडलाइन बने । कुनै वेला आफ्नो अन्तर्वार्ता लिनका लागि मिडियाले पैसा दिनुपर्ने नियमसमेत बसाएर चर्चामा आएका थिए नेपाल । 

नेपालमा पहिलोपटक ल्यापटप र कम्प्युटर चलाउने नेताका रूपमा मात्र होइन, पहिलोपटक मोबाइल फोन प्रयोग गर्ने कम्युनिस्ट नेताका रूपमा समेत उनी सधैँ चर्चाको शिखरमा थिए । कम्युनिस्ट नेता भएर उद्योगपति बुर्जुवाले जस्तो मोबाइल फोन प्रयोग गरेको भन्दै पार्टीभित्र र बाहिर उनको धेरै आलोचनासमेत भएको थियो भने तत्कालीन महासचिव माधवकुमार नेपालले त उनलाई बोलाएर प्रस्टीकरण नै लिएका थिए । 

नक्खु जेल ब्रेकदेखि केन्द्रीय राजनीतिसम्म
०२६ मा राजनीतिमा प्रवेश गरेका उनी नक्खु जेल ब्रेक गरेर छुटेपछि ०३५ मा तत्कालीन मालेको संस्थापक बने भने ०४९ बाट ०७३ सम्म निरन्तर एमाले केन्द्रीय कमिटीमा रहेर काम गरे । ०५४ देखि ७० सम्म उनी स्थायी कमिटी सदस्य र प्रचारसहित विभिन्न विभाग प्रमुख पनि बने । ०५० मा पहिलोपटक राष्ट्रिय सभा सांसद बनेका उनी ०५१ मा सञ्चारमन्त्री, ०५५ मा जलस्रोतमन्त्री र ०६३ मा शिक्षामन्त्री बने । भूमिगत कालमा साहित्यकार सञ्जय थापाका नामले चिनिएका उनका मुक्त आकाशको खोजी संस्मरण, देउमाईको किनार, खुइते कडरिया, स्वप्निल सहर, पार्टीकी आमा, सुम्निमा, आकाशगंगाको तीरैतीरलगायत दुई दर्जनभन्दा बढी उपन्यास र कथाका कृतिहरू प्रकाशित छन् । नेता नेपालको निधनप्रति नेताहरूले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् ।