१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दमक नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

सरस्वती माध्यमिक विद्यालयले दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। सरस्वती माविको नाममा दमक– ८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविको व्यवस्थापन समिति तथा शिक्षकले मंगलबार तालाबन्दी गरेका हुन्।

विद्यालयको नाममा जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ। विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय गरेको थियो। वैशाख अन्तिम भइसक्दासमेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले बताए। ‘हामीले ३ वैशाखमा एक हप्ताभित्र हटाउन भनेर ज्ञापनपत्र दिएका थियौँ। नगरपालिकाले प्रतिबद्धता पूरा नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको हो,’ उनले भने, ‘नगरपालिकालाई पटक–पटक लिखित र मौखिक अनुरोध गर्दा पनि विद्यालयको जग्गाबाट निजी विद्यालय नहटाएपछि बाध्य भएर अनिश्चितकालीन तालाबन्दी गर्न पुग्यौँ।’

गडमदर विद्यालयले सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो। तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन। उसले ०७३ देखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले बताए। तालाबन्दी भएपछि दमक नगरपालिकाले सहमतिको प्रयास खोजेको छ। तर, मंगलबार वार्ता नटुंगिएको पुरीले बताए। बुधबार पुनः बैठक बस्ने सहमति भएको उनले बताए। तालाबन्दीपछि दमक नगरपालिकाको मंगलबारको काम अवरुद्ध भएको थियो।