
शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ। डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्र ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ ।
चलचित्रको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । चलचित्रमा एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन् भने उनीसँगै सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिस श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ ।
‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले यो चलचित्रले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए । उनले भने, ‘एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा चलचित्रले प्रभावकारी ढंगले देखाएको छ ।’ उनले थप भने, ‘अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गर्छ ।’
त्यसैगरी, प्याब्सनका केन्द्रीय महासचिव आर.बी. कटुवालले चलचित्र ‘झिल्को’लाई घर–घरको कथा बताउने चलचित्रको रूपमा व्याख्या गरे । ‘बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो । र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश चलचित्रले दिएको छ,’ उनले भने । हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र रहेको बताउँदै उनले अभिभावक, शिक्षक, समाज र स्वयं बच्चाबिचको समन्वय नहुँदासम्म कुनै पनि बालकको समुचित विकास सम्भव नहुने कुरा ‘झिल्को’ले उठाएको बताए ।
पूर्वसचिव भीम उपाध्यायले चलचित्रले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे । ‘प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,’ उपाध्यायले बताए । उनको भनाइमा ‘झिल्को’ले बहुआयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहुआयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ ।
समग्रमा, ‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ । यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने चलचित्रका रूपमा विश्लेषण गरिएको छ ।
‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो । चलचित्रको छायांंकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।