१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
उत्तरप्रदेशका समकक्षी योगी आदित्यनाथसँग कुराकानी गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ।
Invalid date format o८:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको भारत भ्रमण : पञ्चेश्वर परियोजना, सीमा सुरक्षादेखि लगानी र पर्यटनसम्म छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

भारतको एक साताव्यापी भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनउमा भेटवार्ता गरेका छन् । नेपालमा संघीयता कार्यान्वयनयता प्रदेश सरकारका मुख्यमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । मुख्यमन्त्री नेतृत्वको टोली १६ वैशाखदेखि औपचारिक भ्रमण सकेर मंगलबार धनगढी फर्किँदै छ । 

शाह नेतृत्वको टोलीसँग १८ वैशाखमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहले भेटवार्ता गरेका थिए । उनले १९ वैशाखमा सीमावर्ती उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहित तीनजना मन्त्रीहरूसँग बेग्लाबेग्लै भेटेका थिए । आइतबार उत्तरप्रदेश आइपुगेको उनको टोलीले सोमबार उत्तरप्रदेशका मख्यमन्त्रीसँग भेटवार्ता गरेको छ । ‘नयाँदिल्ली, उत्तराखण्ड र उत्तरप्रदेशमा भएका सबै उच्चस्तरीय भेटमा मैले दुई देशको जनस्तरको सम्बन्धको कुरा गरेको छु । सुदूरपश्चिमका पञ्चेश्वरलगायत जलविद्युत् परियोजना, पर्यटन, कनेक्टिभिटी, सुरक्षालगायत सबै सरोकारबारे छलफल भएको छ । हाम्रा सरोकारबारे भारतीय पक्ष असाध्यै सकारात्मक भएको मैले अनुभव गरेँ,’ मुख्यमन्त्री शाहले लखनउबाट सोमबार टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

सुदूरपश्चिम प्रदेश भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ । ‘मुख्यमन्त्री योगीजीसँग हामीले सीमाक्षेत्रको अपराध तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत द्विपक्षीय हितका विषयमा छलफल भयो,’ शाहले भने । उनले आगामी १६–१७ सेप्टेम्बरमा सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे छलफल गरेका थिए । 

मुख्यमन्त्री शाहले दिल्ली, देहरादुन र लखनउमा भएका सबै भेटवार्तामा आधुनिक कृषिखेती, ऊर्जा क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन, धार्मिक मानसखण्ड सर्किटको निर्माण, धार्मिक एवं पर्यापर्यटन क्षेत्रको विकास दुई देशबिचको कनेक्टिभिटी, सडक सञ्जाललगायतका विषयमा छलफल भएको बताए । शाहले वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययनका लागि सहयोग गर्न मुख्यमन्त्री योगीमार्फत भारत सरकारलाई अनुरोध गरेका थिए । 

शाहले दार्चुलामा निर्माणाधीन पुल शीघ्र निर्माण गर्न तथा बैतडी र डडेल्धुरामा पुल निर्माण प्रक्रिया चाँडो सुरु गर्न भारत सरकारलाई अनुरोध गरेको बताए । उनले धनगढी र महेन्द्रनगरमा दुईवटा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण गरिदिन भारत सरकारसँग अनुरोध गरेको र सबै सरकारी पक्ष सकारात्मक भएको जानकारी दिए । मुख्यमन्त्री शाहको अनुरोधपछि मुख्यमन्त्री योगीले तिकुनियाँ–खक्रौलासम्मको सडक खण्डका साथै पलियाँ–गौरीफन्टामा भारततर्फ सडकखण्ड छिटो विस्तार र सम्पन्न गर्ने आश्वासन दिएका छन् । 

मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री धामी र उत्तरप्रदेशका मुख्यमन्त्री योगीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएको बताए । ‘हामी संघीयतामा गएपछि नेपालबाट मुख्यमन्त्रीस्तरीय पहिलो ‍औपचारिक भारत भ्रमण हो । भारतबाट पनि कोही मुख्यमन्त्री आउनुभएको छैन । अब हाम्रा अन्य मुख्यमन्त्रीलाई पनि उहाँहरूले औपचारिक भ्रमणमा बोलाउने भन्नुभएको छ, हामीले पनि बोलाउनुपर्छ,’ शाहले भने । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा छ ।