१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
२o८२ बैशाख २२ सोमबार २o:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद

राष्ट्रिय महिला गोल्डकपः वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार २o:४४:oo

हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गर्ने क्रममा विभागीय टोली एपिएफले वीरगन्ज युथ स्पोर्टस् एकेडेमीविरुद्ध जित निकालेको छ। सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा उसले वीरगन्जको गोलपोस्टमा १२ गोल गरेको हो।

गत शनिबार बागमती गोल्डकप, १२ वैशाखमा सम्पन्न लुम्बिनी कप महिला फुटबल प्रतियोगिता र त्यसअघि ९ चैत ०८१ मा चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको एपिएफले हेटौँडा गोल्डकपमा पनि प्रभावशाली खेल प्रदर्शन गरेको छ।

हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा एपिएफले वीरगन्जलाई १२–० को जित दर्ता गर्‍यो। रश्मीकुमारी घिसिङ प्रेरित एपिएफले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो। यस्तै, वीरगन्जलाई पूर्णतः दबाबमा राखेको एपिएफले दोस्रो हाममा ७ गोल गर्‍यो।

उसका लागि रश्मी एक्लैले ह्याट्रिकसहित ५ गोल गरिन्। उनले खेलको २३, ४९ र ६९औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा ७०औँ र ७८ औ मिनेटमा थप २ गोल गरिन् । योसँगै जारी प्रतियोगितामा संकटाकी ममता पुनसँग सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेकी छिन् । यसअघि शनिबारको बाराको नवजनगृती क्लबविरुद्ध संकटाकी ममताले व्यक्तिगत ५ गोल गरेकी थिइन् । 

सोमबारको खेलमा भने एपिएफका लागि सरु लिम्बूले १९औं मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। उनले ३५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्। वीरगन्जविरुद्ध हावी भएका एपिएफका खेलाडीहरूले २५औँ मिनेटमा अनिता केसी, ३९ मिनेटमा अनिता बस्नेत, ४५औँ मिनेटमा मन्जली योन्जन, ५१औँ मिनेटमा सजनी थोकर र ७३औँ मिनेटमा सविता रानाले गोल गरे।

सोमबारको खेलको प्लेयर अफ द म्याच सर्वाधिक गोलकर्ता रश्मी घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

सेमिफाइनल समीकरण पूरा
सोमबारको खेलबाट एपिएफले अन्तिम चारमा स्थान बनाएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि चितवन, संकटा र विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोतिगाको सेमिफाइनलमा पुगिसकेका छन्। चितवनले आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलअन्तर र संकटाले बाराको नव जनजागृति युवा क्लबलाई ६–१ को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

प्रतियोगिताको सेमिफाइनलका दुवै खेलहरू मंगलबार हुनेछन्। पहिलो सेमिफाइनल खेलमा बिहान ८ बजे चितवन र नेपाल पुलिस क्बल भिड्दा मंगलबार नै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे संकटा र विभागीय टोली एपिएफ भिड्नेछन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन जारी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको बिजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ। हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।