१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार १२:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शून्य समयमा सांसदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १२:५६:oo

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

सांसद विना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् ।

सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको पल्कियामाई मन्दिर इतिहासको पहिचान र जीवन्त प्रतीक भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।

सांसद शान्ति श्रेष्ठले सडकको अवस्था वर्षामा हिलाम्मे र अरू वेला धुलाम्मे हुने भएकाले वर्षाअगाडि नै बाँकी सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती बजिमयले पनि वर्षायाम सुरु भएसँगै पहाडी र हिमाली भेगका नागरिकलाई यात्रा गर्दा जोखिम झेल्नुपर्ने भएकाले समयमै सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइन् ।

सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितताप्रति शून्य सहनशीलता अपनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रियामा न्यायिक छानबिनको माग गरे।

सांसद शिशिर खनालले गोंगबु बसपार्क क्षेत्रमा साँझपख खुला सडकमा अमर्यादित गतिविधि, रातभरि होहल्ला र यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई लुटपाट हुने गरेको गुनासो बढेकाले सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद शोभा ज्ञवालीले विभिन्न योजनाहरू समयमा सम्पन्न नहुनु र बजेट ‘फ्रिज’ हुने समस्या देखिएकाले ठेक्का लिने निर्माण व्यवसायीहरूको क्षमता र नियत मूल्यांकन गरेर मात्रै ठेक्का स्वीकृत गर्नुपर्ने बताइन् ।

सांसद सन्तोष चालिसेले आउँदो बजेटमा कृषकहरूलाई बजारसँग जोड्न सक्ने व्यवस्था मिलाउन र देशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको बजेट बढाउनुपर्ने सुझाव दिए ।

सांसद सरस्वती सुब्बाले दलित भूमिहीनलाई आवास र कृषि भूमिसहितको अधिकार प्रदान गर्न तत्काल संसदमा भूमि, वन र निकुञ्जसम्बन्धी विधेयक ल्याउन माग गरिन् ।

सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं. ३ मा नदी कटानका कारण बर्खायाममा गाउँ नै डुब्ने खतरा रहेकाले सम्बन्धित मन्त्रालयको ध्यान पुग्नुपर्ने बताए ।

सांसद शान्ति चौधरीले किसानहरूलाई समयमा मल वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइन् ।

सांसद सरिता भुसालले सिमसार क्षेत्रको उचित विकास र संरक्षण हुन नसक्दा उपेक्षित देखिएकाले सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरिन् ।

सांसद सीता मिजारले संघीय संसद् भवन निर्माण आयोजनामा भएको ढिलाइ र सुस्तीले अन्य परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशंका उत्पन्न गराएको बताइन् । रासस