
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम फेरेर राष्ट्रिय एकीकृत कृषि परियोजना राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको नाम छुएिका परियोजनाको प्रगति सन्तोषजनक नभएको, तर प्रधानमन्त्रीले अपजस लिनुपर्ने भएपछि नाम फेर्नेबारेमा यसअघि नै प्रधानमन्त्री केपी ओलीले जानकारी दिइसकेका थिए ।
संसदमा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि अनुसन्धान परिषद्लाई पुनर्संरचना गर्ने, कृषि बिमाको दायरा विस्तार गर्ने, चक्लाबन्दी खेतीलाई प्रवर्द्धन गर्ने, जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधि अपनाउने र किसानले पाउने सबै सुविधालाई राष्ट्रिय परिचयपत्रसँग जोडेर कार्यान्वयन गर्ने उल्लेख छ ।