
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयले नसर्ने रोग, स्वास्थ्य बिमा, १४ वर्षमुनिका बालबालिकाको मुटु र क्यान्सरको निःशुल्क उपचार, स्वास्थ्य पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर प्रस्ताव पठाएको थियो ।
सोहीअनुसारकै नीति तथा कार्यक्रम आउने अपेक्षा मन्त्रालयले राखेको छ स्वास्थ्य मन्त्रालयका अनुसार २४ वटा प्रस्ताव पठाइएको थियो । त्यसमध्ये केही फेरबदल भएर १६ वटा प्रस्ताव समेटिने सम्भावना रहेको स्वास्थ्यसचिव विकास देवकोटाले जानकारी दिए ।
‘यसपटक हामीले नसर्ने रोग, स्वास्थ्य बिमा र पूर्वाधारलाई बढी प्राथमिकतामा राखेर प्रस्ताव पठाएका छौँ, त्यसमा केही फेरबदल पनि होला,’ उनले भने, ‘हामीले महत्त्व र प्राथमिकताका आधारमा प्रस्ताव पठाएका थियौँ ।’ उनका अनुसार आधारभूत स्वास्थ्य सुधार, बिमा सुधार, नसर्ने रोग, स्वास्थ्य पूर्वाधार, जनशक्ति, औषधिलगायतका आधारमा प्रस्ताव गरिएको थियो ।
मन्त्रालयले सडक दुर्घटना, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका कार्यक्रमलाई पनि प्रस्तावमा समेटेको छ ।
सात प्रदेशमा बर्न अस्पताल र मुटुरोगसम्बन्धी उपचार केन्द्र स्थापनाको विषयले पनि प्राथमिकता पाउने बताइएको छ । यसबाहेक हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले अभ्यासमा ल्याएका कतिपय कार्यक्रमलाई नीतिगत रूपमा समेटिने बताइएको छ । भर्खरै मात्र राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजिक गर्दै छन् ।