
हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारणलाइन विस्तार तीव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदर कुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दूरीमा ३३ केभी प्रसारण ट्रान्समिसन लाइन विस्तार अघि बढाएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रसारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ- २ कोवाङसम्म केन्द्रीय प्रसारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको पहुँच पुर्याएको छ । यसलाई जिल्लाभरि नै केन्द्रीय प्रसारणलाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको योजना अघि बढाएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापदण्डअनुसार एक सबस्टेसनबाट अर्को विद्युत् सबस्टेसनसम्म विद्युत् प्रसारण गर्नका लागि ५० किलोमिटरभन्दा माथि जान हुँदैन । तर, मुस्ताङको कोवाङदेखि कोरला नाकासम्म करिब १५० किलोमिटर दूरीमा सिधै ११ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा छ ।
यसैका कारण मुस्ताङ जिल्लामा पटक–पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रसारणलाइन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन् । हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ ।
मुस्ताङ जिल्लाको विद्युत् प्रसारणलाइनलाई दिगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रसारणलाइनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई सेसनमा सबस्टेसन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग रु. २७ करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इन्जिनियर दीपककुमार मण्डलले बताए ।
प्राधिकरणले हालको ११ केभी प्रसारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रसारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इन्जिनियर मण्डलको भनाइ छ । मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौताअनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । प्राविधिकरणसँगको ठेक्कापछि प्याराडाइज हुलास जेकेबी जेभीले ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार गर्न विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी खन्ने कामसँगै विद्युत् पोल विस्तारका ९५ प्रतिशत काम सम्पन्न गरेको जेभी इन्जिनियर मण्डलले उल्लेख गरे ।
३३ केभी ट्रान्समिसन प्रसारणलाइन अबको ६ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रसारणलाइनको तार तान्ने काम तीव्र गतिमा भइरहेको जनाइएको छ । मुस्ताङको थासाङ गाउँपालिका- २ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दूरीमा ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेकेबीले जनाएको छ ।
‘अहिले जोमसोम र ठिनीलगायतका दुई–तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ,’ इन्जिनियर मण्डलले भने, ‘उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँ ।’ मुस्ताङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको काम सकिलगत्तै विद्युत् प्रसारणको परीक्षणस्वरूप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रसारणलाइन विस्तारका लागि मुस्ताङको वारागसङ मुक्ति क्षेत्र- ३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड- १ चराङमा गरी दुईवटा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान एक वर्षअघि नै गरिसकेको लोघेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । मुस्ताङको चैले र चराङमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेसन निर्माणका लागि आवश्यक जग्गाकोसमेत व्यवस्थापन भइसकेको अध्यक्ष विष्टले उल्लेख गरे ।