
संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रारम्भ हुन लागेको बजेट अधिवेशनमा रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले बर्खे अधिवेशनमा बजेट प्रभावकारी बनाउन र संघीय शिक्षा र निजामती विधेयक छिटो पारित गराउन सशक्त उपस्थिति देखाउने निर्णय गरेको हो।
सचेतक निशा डाँगीका अनुसार पार्टीका उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा नीति तथा कार्यक्रम तथा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा संसदमा हुने छलफलमा छाया सरकारको भूमिका निर्वाह गर्ने निर्णय दलले गरेको छ।
यसैगरी, चार वैशाखमा बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार शिक्षा विधेयकमा काम गर्न सांसदहरू सुमना श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनाललाई जिम्मेवारी दिइएको छ। निजामती विधेयकमा काम गर्न चन्दा कार्कीलाई नै जिम्मेवारी दिइएको सचेतक डाँगीले बताइन्।
बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको हकमा निर्वाह भत्ता र ड्युटी आवरको विषयलाई लिएर चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम देशभरका निजी तथा सरकारी मेडिकल कलेजमा समान हुने गरी आठौँ तहको चिकित्सक बराबरको निर्वाह भत्ता र ड्युटी आवर कायम गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ।