१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
गगन अयडी बाजुरा
२o८२ बैशाख ११ बिहीबार १९:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको विकट बिच्छ्या गाउँमा विद्युत् विस्तार

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १९:o१:oo

बाजुराको हिमाली गाउँपालिकाको विकट बिच्छ्या (साविक गाविस)मा विद्युत् विस्तार भएको छ। गाउँपालिकाको वडा नं १, २ र ३ का ६८२ परिवारका तीन हजार ८६७ जनसंख्या लाभान्वित भएका छन्।

हिमाली गाउँपालिकाले कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज् नेपाल’सँगको सहकार्यमा विद्युत् सेवा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए। वर्षौंदेखि टुकी र झरोको सहारामा रहेको गाउँमा २०८२ जेठसम्म बिजुली बाल्ने भनिए पनि एक महिना अगावै काम सकिएको हो।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङले स्थानीयको सक्रियता र सहयोगले समय अगावै विद्युत् सेवा बिस्तार भएको बताए। गाउँपालिकाको  वडा नम्बर २  नातिखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गरिएको छ।

वडा नम्बर ५ क्युडी गाउँका १२० परिवारका घरमा भने दशैंसम्म बिजुली बाल्ने गरी तयारी गरिएको छ। झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न भएर गाउँ गाउँमा विद्युत विस्तारको कार्य भइरहेको छ । 

पुस्तौदेखी अँध्यारोमा बस्दै आएको गाउँमा बिजुली बत्ति बलेपछि स्थानीय ४५ वर्षीया मानकला रोकायाले खुसी व्यक्त गरिन्। बाजुराको बिच्छ्यामा उत्पादित विद्युत्ले हुम्लाको ताँजाकोट गाउँपालिकाको मासफुर बस्तीलाईसमेत लाभान्वित बनाएको छ।

परियोजनाको काम गत वर्षबाट सुरु भएको थियो। परियोजना सम्पन्न गर्न संस्थाले दुई चरणमा काम गरेको थियो। बिजुली बाल्ने लगभग अन्तिम चरणमा पुगेको गुरुङ बताउँछन्। बिच्छ्याँमा चाँडो बिजुली बाल्न संस्थाले हेलिकप्टरमार्फत हुम्लाको जिबानाबाट सामान ढुवानी गरेको छ। जिबानासम्म सडक यातायातबाट सामान ढुवानी गरिएको थियो। बिच्छ्यामा यातायातको पहुँचमा नभएकाले हेलिक्पटरमार्फत सामान ढुवानी गरिएको हो।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छ्याका चार ठाउँमा झोलुङ्गे पुल, खानेपानी योजनाका साथै विद्यालयमा चारकोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ। बिच्छयाँ बाजुराको अति दुर्गम र पिछडिएको क्षेत्रका रुपमा चिनिन्छ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत फिनल्यान्ड सरकार र युरोपियन युनियन, गाउँपालिका र स्थानीयको श्रमदानमा चार वर्ष पहिले बिजुली बाल्ने प्रक्रिया अगाडि बढेको थियो। दुई वर्षपछि एकाएक ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले काम गर्न नसकेपछि अहुरै रहेको बिच्छयाँवासीको बिजुली बाल्ने सपना कादुरी एग्रिकल्चरल एडले पूरा गरेको हो।

बिच्छया खोला लघु जलविद्युत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर रोकायाका अनुसार चारवर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानीय बासिन्दा एकाएक निराश बनेका थिए। अब कादुरीले विद्युतीकरणको काम अगाडि बढाएसँगै उनीहरूको निराशा आशामा बदलिएको छ।