
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम फिँजाइरहेको बताएका छन्।
लोकतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले नेकपा एमालेविरुद्ध खनिएका छन्। हाम्रा राष्ट्रवादी दृष्टिकोण र अडानका कारण, हाम्रो जनपक्षीयताका कारण, लोकतान्त्रिक अभ्यास, आचरण र देशलाई स्पष्ट अगाडि बढाउने नीतिका कारण विभिन्न प्रकारका शक्ति भयभित भएर दिनैपिच्छे अनेक भ्रम फिजाउन खोजेका छन्। हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर भन्न थालेका छन्,’ प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमा लामो समय सरकार बन्दा ५ वर्षका लागि बन्छ। यो २५० वर्षसम्म चल्ने तानाशाही अधिनायकवादी व्यवस्था वा वंशवादी शासन होइन।’
उनले कांग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वका लागि बनेका कारण सरकारको चिन्ता गर्न छाडेर निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन ८४ को चुनावी तयारीमा लाग्न आग्रह पनि गरे।